काठमाडौं– बलिउड अभिनेता शाहिद कपुरको आगामी फिल्म ‘जर्सी’को ट्रेलर सोमबार सार्वजनिक भएको छ। तमिल भाषाको फिल्म ‘जर्सी’को रिमेक यो फिल्मलाई तमिलकै निर्देशक गौतम तिन्नानुरीले निर्देशन गरेका छन्। फिल्म ३१ डिसेम्बरमा प्रदर्शन हुँदै छ।
फिल्मको ट्रेलर सार्वजनिक भएसँगै शाहिदले भारतीय सञ्चारमाध्यमसँग कुराकानी गर्दै ‘जर्सी’ अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट फिल्म भएको बताएका छन्। उनले भनेका छन्, ‘मैले ‘जर्सी’ गर्दिन भन्ने निकै कोसिस गरेको थिएँ। तर, यो फिल्म मलाई ‘कबीर सिंह’भन्दा पहिले नै अफर गरिएको थियो। मसँग काम गर्नकालागि मलाई पर्खिएका निर्देशक गौमतप्रति म आभारी छु। म भन्न सक्छु, यो फिल्म अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट फिल्म हो।’
सँगै शाहिदले पहिलो पटक तमिल भाषामा रहेको यो फिल्मलाई हेर्दा रोएको पनि बताएका छन्। फिल्मको कहानी सुनेपछि त्यसप्रति आकर्षित भएका उनले आफ्नो पछिल्लो फिल्म ‘कविर सिंह’ रिलिज हुनुभन्दा दुई हप्ता अघि यो फिल्म हेरेका थिए। उनले भनेका छन्, ‘फिल्म हेरेपछि म निकै रोएको थिएँ। मैले यो फिल्म मीरा (श्रीमती) र मेरो म्यानेजरसँगै बसेर हरेको थिएँ। मलाई देखेर उनीहरु दुवैजना अच्चममा परेका थिए।’
गौतम तिन्नानुरीको निर्देशनमा बनेको फिल्म ‘जर्सी’मा शाहिदसँगै मृणाल ठाकुर र पंकज कपुरको पनि मुख्य भूमिका छ। फिल्ममा ठाकुरले शाहिदको श्रीमतीको भूमिका निभाएकी छिन् भने शाहिदका बुबा पंकजले फिल्ममा कोचको भूमिका निभाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।