काठमाडौं– १५औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिता २०२२ को अप्रिल २ बाट सुरु हुने भएको छ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले खेल तालिका तयार नभए पनि सम्बन्धित सरोकारवालाहरुलाई अप्रिल २ बाटै प्रतियोगिता सुरु हुने आन्तरिक रुपमा जानकारी गराएको हो।
बीसीसीआईका अनुसार आईपीएलका सबै खेल भारतमै हुनेछन्। चेन्नई सुपर किंग्स डिफेन्डिङ च्याम्पियन भएको हुनाले उद्घाटन खेल चेपकमा हुने अनुमान गरिएको छ। तर, यसको निर्णय भने गरिएको छैन।
यसअघि प्रतियोगितामा ८ टिमको सहभागिता थियो। तर, १५औं संस्करणबाट भने १० टिमले सहभागिता जनाउनेछन्। केही महिना अगाडि मात्रै बीसीसीआईले दुई फ्रेन्चाईज टिम थप्दै आईपीएल खेल्ने १० टिम बनाएको थियो। आईपीएलको नयाँ टिममा लखनऊ र अहमदाबाद थपिएका छन्।
सन्जीव गोयन्का ग्रुप (आरपीएसजी)ले ७०९० करोड भारुमा लखनऊ र सीभीसी क्यापिटल्स पार्टनरले ५६२५ करोड भारुमा अहमदाबाद टिम किनेको हो।
बीसीसीआईका अनुसार यसअघिका संस्करणको लिग चरणमा ६० खेल हुने भए पनि यसपटक भने ७४ खेल हुनेछन्। प्रत्येक टोलीले होम एण्ड अवेका हिसावले १४ लिगका खेल खेल्दै आएका थिए। प्रतियोगिताको फाइनल जुन ४ वा ५ मा हुनेछ।
भारतीय टोलीको व्यस्त तालिका
यसैबीच, भारतीय टोली डिसेम्बर ८ मा दक्षिण अफ्रिका प्रस्थान गर्ने भएको छ। टोली मुम्बईबाट उड्नेछ, जहाँ भारतले डिसेम्बर ३ देखि ७ सम्म न्यूजील्याण्डविरुद्ध आफ्नो दोस्रो र अन्तिम टेस्ट खेल्नेछ। भ्रमणमा तीन टेस्ट हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।