काठमाडौं– ‘नुमाफुङ’ र ‘गुडबाई काठमाडौं’ जस्ता उत्कृष्ट सिनेमा निर्देशन गरेका निर्देशक नवीन सुब्बाको नयाँ फिल्मको घोषणा भएको छ। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरि सुब्बाको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘गाउँ आएको बाटो’को घोषणा भएको हो।
एक दशकअघि सुब्बाले ‘गुडबाई काठमाडौं’ निर्देशन गरेपछि अन्य फिल्म बनाएका थिएनन्। उक्त फिल्म पनि विभिन्न अन्तर्राष्ट्रिय महोत्सवहरुमा छनोट भइ प्रदर्शन भएको थियो। पछिल्लो फिल्म बनाएको एक दशकपछि सुब्बाको निर्देशनमा ‘गाउँ आएको बाटो’ निर्माण हुने घोषणा भएको छ।
सुब्बाको निर्देशनमा बन्ने सिनेमामा महेश राई र नवीन सुब्बाको कथा रहेको छ। फिल्ममा राई समुदायको कथालाई प्रस्तुत गरिने पत्रकार सम्मेलनमा बताइएको थियो।
आमोद राईको लगानीमा बन्न लागेको फिल्ममा अमेरिकी फिल्मकर्मी मार्किन कापरोनले छायांकन गर्नेछन्। दयाहाङ राई र पशुपति राई मुख्य भूमिकामा रहेको फिल्ममा पर्सन राई, खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बालगायतका कलाकारको अभिनय हुनेछ। फिल्मको छायांकन भने केही दिनपछि भोजपुरबाट सुरु हुने निर्देशक सुब्बाले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।