काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर २ मा मतगणनाका क्रममा झडप हुँदा एक जना घाइते भएका छन्। घाइते हुनेमा महाधिवेशन प्रतिनिधिमा उठेका दीर्घबहादुर केसी रहेका छन्।
गृहमन्त्री बालकृष्ण खाण पक्षले आक्रमण गर्दा संस्थापनइतरका केसी गम्भीर घाइते भएका हुन्। लुम्बिनी अस्पतालबाट रेफर गरेर उनलाई ललितपुरस्थित मेडीसिटी अस्पताल ल्याइँदै छ।
घाइते केसी एन्फाको केन्द्रीय सदस्य तथा रूपन्देही अध्यक्ष भएकाले एन्फाले हेलिकप्टरमार्फत् काठमाडौं ल्याउँदै गरेको जानकारी दिइएको छ।
यसअघि गृहमन्त्री बालकृष्ण खाणनिकट व्यक्ति मतगणना स्थलमा प्रवेश गरेपछि मत गणना रोकिएको थियो।
बुटवलमा भइरहेको मतगणनाका क्रममा असम्बन्धित युवाहरु आएर होहल्ला गरेपछि हाल मतदान रोकिएको केसीले बताएका थिए।
रुपन्देही-२ को सभापतिका लागि हरि लम्साल र काजीमान श्रेष्ठ प्रतिस्पर्धामा छन्। श्रेष्ठ पक्षले मत गणना आजको लागि सार्न अनुरोध गरेपछि एक दिन पर सारिएको थियो।
श्रेष्ठ देउवापक्ष र लम्साल पौडेलपक्षका उम्मेदवार हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।