काठमाडौं- एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधिहरुको संख्या बढ्ने भएको छ। यसअघि पूर्वानुमान गरिएभन्दा सय जना जति प्रतिनिधि बढ्ने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए।
एमालेको मंगलबार बसेको स्थायी कमिटी बैठकमा प्रतिनिधि व्यवस्थापन समितिका संयोजक विष्णु पौडेलले महाधिवेशनको प्रतिनिधिहरुको अहिलेसम्मको विवरण ब्रिफिङ गरेका थिए।
भट्टराईले दिएको जानकारी अनुसार, महाधिवेशनको लागि अहिलेसम्म अहिलेसम्म पदेन प्रतिनिधिहरु (केन्द्रीय कमिटी र केन्द्रीय निकाय) २३८ जना र निर्वाचनबाट १८८९ जना प्रतिनिधिहरु चयन भइसकेका छन्। केही जिल्लाको विवरण आउन बाँकी छ। महोत्तरी, रौतहट, प्रदेश २ को मजदुर क्षेत्र, भुपु सैनिक संगठनबाट ६७ जना प्रतिनिधिको चयन हुन बाँकी छ।
प्रतिनिधिहरुमा पाँच प्रतिशत मनोनित गरिने भट्टराईले बताए। ‘१०३ जनाको मनोनयन हुन्छ। त्यसैले हाम्रो कुल प्रतिनिधिको संख्या २२९७ हुनपुग्छ’, उनले भने।
आफूहरुले पदेनसहित निर्वाचित प्रतिनिधिको संख्या दुई हजारमा सीमित गर्ने र मनोनीतसहित कूल प्रतिनिधिको संख्या २१ सय जति हुने अनुमान गरेको उनले बताए। ‘तर, पार्टीको सदस्य संख्या थप हुन गएको हुनाले हाम्रो पूर्वानुमानभन्दा एक सय जति संख्या बढेको छ’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।