चितवन- नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनको प्रचारप्रसारका लागि चितवनमा बृहत् मोटरसाइकल र्याली आयोजना गरिएको छ।
युवा संघ नेपाल चितवनको आयोजनामा गरिएको र्यालीमा दुई हजारभन्दा बढी मोटरसाइकल सहभागी भएको आयोजकले जनाएको छ।
जिल्लाको विभिन्न पालिकाबाट मोटरसाइलकसहित आएका युवाहरु एमालेको महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा जम्मा भएर र्यालीमा सहभागी भएका हुन्। आज दिउँसो १ बजे नारायणी नदी किनारबाट सुरु भएको मोटरसाइकल र्यालीले भरतपुर महानगरपालिकाको विभिन्न भाग परिक्रमा गरेको छ।
एमाले महाधिवेशन प्रचारप्रसारको गीत बजाउँदै नारायणी नदी किनारबाट सुरु भएको र्याली नारायणगढको मेनरोड, पोखरा बसपार्क, आँपटारी, बाइपास सडक हुँदै केन्द्रीय बस टर्मिनल, चौबीसकोठी, लायन्सचोक, सहिदचोक, पुलचोक हुँदै महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा आएर समापन भएको थियो।
युवा संघ नेपाल चितवनका संयोजक सुशील केसीले आगामी १० गते नारायणगढको नारायणी नदी किनारमा हुने एमाले महाधिवेशनको उद्घाटनमा व्यापक जनसहभागिता जुटाउने उद्देश्यले मोटरसाइकल र्यालीको आयोजना गरिएको बताए। भरतपुरसँग जिल्लाका अन्य पालिकाहरुमासमेत महाधिवेशनको प्रचार गर्दै मोटरसाइकल र्याली निकालिएको केसीको भनाइ छ।
एमालेको केन्द्रीय निर्देशनअनुसार आज नवलपुर, मकवानपुरसहित देशका मुख्य सहरहरुमा युवा संघले मोटरसाइकल र्याली निकालेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।