काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी महाधिवेशनमा पक्षधरताको आधारमा नेताहरुको पद व्यवस्थापन नहुने बताएका छन्। उनले जसले भोट ल्याएर जुन पदमा चुनाव जित्न, त्यही पदमा व्यवस्थापन हुने बताए।
'अहिलेको व्यवस्थापन भनेको चुनाव लडेर जित्ने। जुन पदमा भोट ल्याएर जित्छ, त्यही हो व्यवस्थापन। भोट ल्याएर जितेन भने 'नो' व्यवस्थापन', मंगलबार महाधिवेशनको सन्दर्भमा सम्पादकहरुसँगको अन्तर्क्रियामा उनले भने।
एमालेमा सहमतिमा पदाधिकारी चयन हुने र त्यसको व्यवस्थापन ओलीले गर्ने चर्चाकाबीच उनले भने निर्वाचन हुने संकेत गरेका हुन्।
उनले पक्षधरताको आधारमा व्यवस्थापन गर्न थालियो भने पार्टीभित्र सधैं पक्ष र विपक्ष रहिरहने बताए। उनले एउटा पार्टी र एउटा नेता हुने बताए।
'यसको पक्षबाट यति जना भनेर सचिवालय बन्दैन। स्थायी कमिटी र केन्द्रीय कमिटी पनि बन्दैन। यसको पक्षबाट यति जना र उसको पक्षबाट यति जना भयो भने सधैं पक्ष भइरहने भयो नि त। पार्टी त कहिले पनि एक जुट नहुने भयो। हाम्रो कार्यकर्ता र जनताको चाहना त्यो होइन', ओलीले भने।
उनले आफ्नो पार्टीमा नेताहरुको व्यवस्थापन मुख्य कुरा नभएको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।