तस्बिर : राजन काफ्ले।
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी महाधिवेशनमा आफू अध्यक्षमा उठ्ने वा नउठ्ने निर्णय गरिनसकेको बताएका छन्। मंगलबार सम्पादकहरुसँगको अन्तर्क्रियामा उनले आफूलाई चुनौती दिनेलाई सम्मान र स्वागत गर्ने बताए।
एमालेको अध्यक्षको रुपमा ओली नै दोहोरिने निश्चित प्राय भएको बेलामा उनले आफ्नो उम्मेदवारी टुंगो नभएको बताएका हन्। 'मैले अध्यक्षमा उठ्ने वा नउठ्ने कुनै निर्णय गरेको छैन। उठ्ने भएँ भने अध्यक्षमा अरुलाई नउठ्न भन्दिनँ', उनले भने।
अध्यक्षमा यसअघि नै भीम रावलले पनि उम्मेदवारी घोषणा गरिसकेका छन्। तर, त्यसलाई चुनौतीको उनले चर्चा गरेनन्। 'रावलजीले मलाई चुनौती दिनुभएको होइन। उहाँले मप्रति आदर सम्मान नै गर्नुभएको छ। तपाईंलाई थकाइ लाग्यो होला, म उठ्छु भन्नुभएको छ', उनले भने।
नेकपा एमाले लोकतान्त्रिक पार्टी भएकाले उम्मेदवारीको सन्दर्भमा कुनै प्रकारको जोरजुलुम वा दबाब नहुने उनको भनाइ थियो। उनले आफूले नउठ्न आग्रह गर्दा दबाब दिएको हुनसक्ने भएकाले आफूले त्यस खालको दबाब वा अभिव्यक्ति नदिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।