काठमाडौं– झापाका ५ वटै प्रतिनिधि सभा क्षेत्रमा नेपाली कांग्रेसका सभापति चुनिएका छन्। पाँच क्षेत्रका सभापतिमा आफू निकट बढी निर्वाचित भएको नेता कृष्णप्रसाद सिटौलापक्षको दाबी रहेको छ।
झापाको कांग्रेस राजनीतिमा केन्द्रको प्रभाव खासै परेको देखिँदैन। नेता सिटौला र प्रवक्ता विश्वप्रकाश शर्मा पक्षधर प्रतिस्पर्धी रहेका हुन्छन्। केन्द्रीय दुई नेताको प्यानल वडा तहदेखि जिल्ला कार्यसमितिको अधिवेशनसम्म हुने गरेको छ।
सोमबार सकिएको प्रतिनिधि सभा क्षेत्रको अधिवेशनमा शर्मा कमजोर देखिएका छन्। झापा–५ मा विजयी ढुण्डीराज भण्डारी बाहेक अन्यमा शर्मापक्षले सभापतिमा जित निकाल्न नसकेको बताइएको छ।
झापा १ मा इन्द्रबहादुर बुढाथोकी ४२१ मत प्राप्त गरी विजयी भएका छन्। सभापतिमा बुढाथोकीले गोपाल तामाङलाई हराएका हुन्। सोमबार भएको अधिवेशनमा निर्वाचित बुढाथोकीसँग पराजित गोपाल तामाङले १७५ मत ल्याए। बुढाथोकी नेता सिटौला पक्षधर भएको बताइएको छ।
झापा– २ को सभापति खगेन्द्र मैनाली चयन भएका छन्। विजयी मैनालीले ३७० प्राप्त गरे भने उनका प्रतिस्पर्धी मोहन सुव्वा लिम्बूले २१६ मत ल्याए। मैनाली पनि नेता सिटौला पक्षधर रहेको दाबी गरिएको छ।
झापाको ३ मा गणेश पोखरेल सभापतिमा निर्वाचित भएका छन्। सभापतिका अर्का उम्मेदवार राजेन्द्र घिमिरेलाई हराउँदै सोही पदमा पोखरेल पुनः निर्वाचित भएका हुन्। विजयी पोखरेलले ५२० मत प्राप्त गरे। पराजित घिमिरेले १०८ मत प्राप्त गरेका थिए। पोखरेल नेता सिटौला निकट हुन्।
जयनारायण साह झापा ४ को कांग्रेस सभापतिमा विजयी भएका छन्। उनले ४६४ मत प्राप्त गरि जीत निकालेका हुन्। साहसँग पराजित उम्मेदवार नारायण बजगाईंले २७४ मत ल्याए। साह नेता सिटौला पक्षधर हुन्।
सोमबार नै भएको झापा ५ को अधिवेशनबाट ढुण्डीराज भण्डारी ४४७ मत ल्याएर सभापतिमा विजयी भए। भण्डारी दोस्रोपटक सोही पदमा निर्वाचित भएका हुन्। भण्डारी प्रवक्ता शर्मा निकट हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।