काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले उपाध्यक्ष भीम रावलले आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिँदा राम्रो सन्देश नगएको बताएका छन्। बस्नेतले उम्मेदवारी फिर्ता लिन रावललाई सुझाव पनि दिएका छन्।
'हामीले अवलम्बन गरिरहेको जनवादी केन्द्रीयताको हिसाबे महाधिवेशनमा उम्मेदवारी दिन पाउने कुरा सामान्य प्रक्रिया हो', मंगलबार रिपोर्टस् क्लबमा आयोजित पत्रकार सम्मेलनमा बस्नेतले भने, 'भीम रावलले अध्यक्षमा दाबी गरेर राम्रो सन्देश गएन कि भन्ने मलाई लाग्छ। मेरो सुझाव छ, उम्मेदवारी फिर्ता गरेर हिजोदेखि खेल्दै आउनुभएको भूमिकालाई निरन्तरता दिनु राम्रो हुन्छ।'
उम्मेदवारी फिर्ता नगरी चुनावमा जाँदा निराश हुने र आन्दोलनलाई क्षति पुर्याउने कुरा नहोस् भनेर सचेत भएर उम्मेदवारी फिर्ता लिँदा राम्रो हुने बस्नेतको भनाइ छ।
रावलले वरिष्ठ उपाध्यक्ष चाहेको, त्यो नभए कम्तिमा उपाध्यक्षमा निरन्तरता हुने सुनिश्चिता खोजेको, तर त्यस खालको संकेत नपाएपछि अध्यक्षमा उम्मेदवारी घोषणा गरेको ओली निकटका नेताहरुले अनौपचारिक रुपमा बताउँदै आएका थिए।
सोही सन्दर्भमा अध्यक्ष केपी शर्मा ओली निकट नेता बस्नेतले रावललाई उपाध्यक्षमा निरन्तरता दिन आग्रह गरेका हुन्।
सोही कार्यक्रममा बस्तेतले महाधिवेशनमा आफूले सचिवमा उम्मेदवारी दिने पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।