काठमाडौं- एमाले नेता सुवास नेम्वाङले दशौं राष्ट्रिय महाधिवेशनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका छन्। मंगलबार नेपाल लाइभसँग कुरा गर्दै उनले आफूलाई त्यही पदका लागि साथीहरुबाट सल्लाह आइरहेको बताएका हुन्।
'म अहिलेसम्म केपी ओलीलाई अध्यक्ष राखेर सर्वसम्मत नेतृत्व चयन हुनुपर्छ भन्ने पक्षमा छु। तर कथंकदाचित निर्वाचन हुने भयो भने मैले साथीहरुसँग सल्लाह गरेर उम्मेदवारी घोषणा गर्छु। तर मलाई अहिलेसम्म सल्लाह दिने साथीहरुलाई वरिष्ठ उपाध्यक्षको उम्मेदवार हुनुपर्छ भनेका छन्', उनले भने।
यसअघि वरिष्ठ नेताको रुपमा ईश्वर पोखरेलाई चर्चा गरिएको थियो। ओलीले उनलाई 'ग्रिन सिग्नल' दिइसकेकाले उनी नै वरिष्ठ उपाध्यक्ष हुने एमालेकै नेताहरुले बताउने गरेका थिए। तर नेम्वाङको तयारीले उनलाई धक्का लाग्ने देखिएको छ।
एमालेमा सर्वसम्मत नेतृत्व चयन गर्ने भनेर नेताहरुले बताउने गरेको भए पनि उम्मेदवारी घोषणा बढ्दै जाँदा त्यो सम्भावना पनि टर्दै गएको छ। महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा आयोजना हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।