काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा मोरङका दुई क्षेत्रमा सर्वसम्मत सभापति चुनिएका छन्।
जिल्लाका पार्टी सचिव मोदराज घिमिरेका अनुसार क्षेत्र नम्बर १ मा शंकर राई र क्षेत्र नम्बर ५ मा जीवछ गच्छदार सभापतिमा सर्वसम्मत चयन भएका हुन्।
पौडल कोइराला पक्षधरका राई लेटांग नगरपालिकाका मेयरसमेत हुन्। सभापतिका लागि उनको मात्र उम्मेदवारी परेको थियो। त्यसैगरी, क्षेत्र नम्बर ५ मा पूर्वक्षेत्रीय सचिव गच्छदार सभापति भएका हुन्। गच्छदार अमृत अर्याल पक्षधर हुन्।
यता, क्षेत्र नम्बर २ मा सर्वसम्मतको प्रयास भइरहेको सचिव घिमिरेले जानकारी दिए। मिनेन्द्र रिजालको क्षेत्र भएको हुँदा सभापतिका लागि ५ जना आकांक्षी देखिएका थिए।
यद्यपी, पौडेल कोइराला पक्षका नागेश्वरप्रसाद सिंह सर्वसम्मत हुने सम्भावना बढी रहेको छ। क्षेत्र नम्बर ३ मा सभापतिका लागि गणेश खड्का र राजेन्द्र ढकालबीच मंगलबार मतदान हुनेछ। खड्का पौडेल कोइराला पक्षका हुन्।
त्यसैगरी, क्षेत्र नम्बर ४ मा विनोद बस्नेत र बसन्त हुमागाँइ रहेका छन्। दुवै महेश आचार्य पक्षधर हुन्। क्षेत्र नम्बर ६ मा देवराज तामाङ र चेतराज रेग्मीबीच प्रतिस्पर्धा हुने भएको छ।
तामाङ पौडेल कोइराला पक्षका हुन्। क्षेत्र नम्बर ६ सोमबार मतदान केन्द्रको विषयमा विवाद हुँदा उम्मेदवारी मनोनय दर्ता हुन सकेको छैन।
जिल्ला निर्वाचन अधिकृत केदार कार्कीका अनुसार बेलुका अबेर मतदान केन्द्रको विषयमा टुंगो लागेको छ। जसअनुसार क्षेत्र नम्बर ६ को मनोनयन र मतदान मंगलबार बुढीगंगा गाँउपालिकाको बाँसबारीस्थित जनप्रिय माविमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।