काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि साउदी अरेबियाका राजदूत मुसैद वीन सुलेमन अल मार्वानीले शिष्टाचार भेट गरेका छन्।
मन्त्रालयमा सोमबार भएको भेटवार्तामा उनीहरूबीच नेपाल-साउदी अरेबियाबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भएको थियो।
भेटका अवसरमा श्रममन्त्री श्रेष्ठले साउदी अरेबियाले हालै ल्याएको श्रम कानुनबारे चासो राख्दै नयाँ श्रम कानुनबाट नेपालीहरु लाभान्वित हुने विश्वास व्यक्त गरे। मन्त्री श्रेष्ठले साउदी अरेबिया सरकारसँग प्रक्रियामा रहेको द्विपक्षीय श्रम सम्झौतालाई तार्किक निष्कर्षमा पुर्याउन समन्वयका लागिसमेत राजदूत अल मार्वानीसँग आग्रह गरे।
नेपालमा पनि सीप परीक्षण परियोजना कार्यान्वयनका लागि राजदूतमार्फत् साउदी अरेबिया सरकारसमक्ष उनले आग्रह गरेका थिए। नेपालबाट वैदेशिक रोजगारीमा गएकामध्ये २० प्रतिशत जनशक्ति साउदी अरेबियामा रहेको चर्चा गर्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीको क्षेत्रमा साउदी अरेबिया सरकारले नेपाललाई प्रदान गरेको अवसरका लागि धन्यवाद दिए।
साउदी अरेबियाबाट आर्जन गरेको आर्थिक, सामाजिक र प्राविधिक पुँजीबाट धेरै नेपाली लाभान्वित भएको भन्दै उनले निर्माण, अतिथि सेवा र अन्य सेवाबाहेक प्रविधिमा आधारित उद्योगमा पनि नेपाली श्रमिकहरु काम गर्न इच्छुक रहेको बताए।
राजदूत अल मार्वानीले द्विपक्षीय श्रम सम्झौता छिटो सम्पन्न गर्न साउदी अरेबिया तयार रहेको बताए। साउदी अरेबियाले हालै ल्याएको श्रम कानुनले श्रमिकहरुको समस्या सम्बोधन गर्ने उनले बताए।
नेपाल र साउदी अरेबियाबीच सन् १९७७ मार्च १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।