चितवन- एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र स्थलमा मञ्च बनाउने काम ४० प्रतिशत सकिएको छ। सोमबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा मञ्चको व्यवस्थापनको जिम्मेवारीमा खटिएका नेता विनोद श्रेष्ठले ९ गते बेलुकासम्म सबै काम सकिने बताए।
मञ्चको लम्बाइ १२० फिट र चौडाइ ६० फिट हुने निर्माण भइरहेको उनले बताए। 'स्टेजको एउटा भागमा हामी ७२ जना कलाकारले प्रदर्शन गर्न सक्ने गरी व्यवस्थापन गरेका छौं', उनले भने, 'नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको ७२ वर्ष पुगेको अवसरमा हामी ७२ जना कलाकारहरूबाट अन्तर्राष्ट्रिय गीत गाउन र राष्ट्रिय धुन बजाउन प्रयत्न गरिरहेका छौं।'
नेकपा एमालेका सबै केन्द्रीय कमिटीका सदस्यहरु र पार्टीका केन्द्रीय सल्लाहकार समितिका सदस्यहरुलाई मञ्चमा राखिनेछ। त्यसका साथै, स्वदेशी तथा विदेशी पाहुनाहरुलाई पनि मञ्चमै राखिने छ।
'बीच भागमा देश तथा विदेशबाट आउने पाहुनाहरु, स्थायी कमिटीका सदस्यहरु, दायाँ केन्द्रीय कमिटी, बायाँ सल्लाहकार कमिटी रहने हिसाबले व्यवस्थापन गरेका छौं', श्रेष्ठले भने।
मञ्च निर्माण गर्दा नेपालमा प्रयोग भएका र पाइने सबै प्रविधिहरुलाई उपयोग गर्न खोजिएको उनको भनाइ छ।
मञ्चको अघिल्लितर विभिन्न सञ्चारमाध्यको क्यामेरा लगायतका सामग्री राख्नु नपर्ने गरी व्यवस्थापन गरिएको उनको भनाइ छ। 'सम्पूर्ण कार्यक्रमको लाइभ प्रशारण गर्नेछौं। त्यसका लागि कम्तिमा पनि दुइटा ड्रोन क्यामेरा प्रयोग गर्छौं। आवश्यकताको आधारमा अन्य क्यामेरा प्रयोग गर्छौं', उनले भने।
उनले आफूहरुले नै भिडिओ खिच्ने र सबैलाई लाइभका लागि त्यही दिने बताए। 'स्टेजको अघिल्लो भागमा सबै पत्रकार अट्ने अर्को टावर बनाउँछौं। दुई तहको त्यो टावरको लम्बाइ ८० फिट र चौडाइ ४० फिटको हुनेछ। पत्रकारहरुलाई सहज ढंगबाट रिपोर्टिङ गर्न पत्रकारमैत्री मञ्च बनाउँछौं', उनले भने।
महाधिवेशन उद्घाटनस्थलमा पाँच लाख उपस्थित हुने आकलन गरिएको छ। 'पाँच लाख दर्शकले एकै ठाउँमा बसेर हेर्न सम्भव छैन। विभिन्न भागमा बसेर हेर्न सक्ने हिसाबले व्यवस्थापन गरिरहेका छौं', उनले भने।
पाँच लाख मान्छेलाई व्यवस्थापन गर्न रातो क्याप लगाएका पाँच हजार स्वयं सेवक खटाइने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।