काठमाडौं- पछिल्लो समय बैंकिङ क्षेत्रमा तरलता (लगानीयोग्य रकम) अभाव चुलिँदै गएको विषय चर्चामा छ। बैंकहरूले तरलताको समस्या देखाउँदै कर्जा (ऋण) प्रवाहमा कडाइ गरेका छन्। बैंकरहरू १० लाख रुपैयाँ ऋण माग्न आउने ऋणीलाई समेत दिन सकिने अवस्था नरहेको बताउँछन्।
यता, व्यवसायीहरूले पनि बैंकबाट ऋण लिन नपाउँदा व्यवसाय सञ्चालनमा समस्यामा परेको बताइरहेका छन्। व्यवसाय विस्तार वा नयाँ व्यवसाय सुरु गर्नका लागि सबैजसो बैंकमा धाउँदासमेत ऋण नपाएको उनीहरुको गुनासो छ। तरलताको यो समस्या तत्काल समाधान गर्न सरोकारवाला निकायसमक्ष व्यवसायीहरूले ध्यानाकर्षण गराउँदै आएका छन्।
यही बीचमा, कतिपय जानकारहरुले भने तरलता अभाव वास्तविकता नभएर त्रास सिर्जना गरिएको बताइरहेका छन्। उनीहरुको यो भनाइले सेवाग्राहीलाई थप अन्योलमा पारेको छ। बैंकहरूले पैसा भएर पनि नदिएको हो या अन्य कुनै कारणले कर्जा प्रवाहमा कडाइ गरिएको भन्नेमा अन्योलता देखिएको हो।
यता नेपाल राष्ट्र बैंकका अधिकारीहरु तरलता अभाव नभएको बताउँछन्। यद्यपि, तरलता कम हुँदा समस्या रहेको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए।
राष्ट्र बैंकका अनुसार गत बिहीबारसम्म बैंकहरुमा करिब १७ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको छ। उक्त दिनसम्म १३ बैंकको सीडी रेसियो ९० प्रतिशतभन्दा धेरै रहेको छ। यस कारण यी १३ बैंक थप कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा रहेको राष्ट्र बैंकका एक अधिकारीले बताए।
यस्तै २२ बैंकको सीडी रेसियो ८८ प्रतिशतदेखि ९० प्रतिशतको हाराहारीमा रहेको छ। समग्रमा बैंकहरूको यस्तो रेसियो ९०.०८ प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनका लागि जारी गरेको परिपत्रमा सीडी रेसियो ९० प्रतिशत कायम गरेर सीसीडी खारेज गरेको थियो। ९० प्रतिशतभन्दा धेरै सीडी रेसियो भएको बैंकले २०७९ असार मसान्तभित्र राष्ट्र बैंकले तोकेको सीमाभित्र झार्नुपर्ने व्यवस्था गरेको थियो। उक्त व्यवस्था अनुसार बैंकहरु कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेका हुन्। यसले पनि तरलतामा समस्या देखिएको बैंकरहरु बताउँछन्।
यस कारण तरलता अभाव
चालु आर्थिक वर्ष सुरु भएसँगै सरकारी खर्चको भोलुम घटेका कारण बैंकिङ क्षेत्रमा तरलताको समस्या देखिएको राष्ट्र बैंकका प्रवक्ता ढकालको भनाइ छ। ‘अहिलेसम्म विकास खर्च पाँच प्रतिशत पनि हुन सकेको छैन। बाहिरबाट आउने रेमिट्यान्स पनि घटेको छ। यसकारण तरलतामा दबाब सिर्जना भएको हो,’ उनले भने।
सरकारले बजेटको लक्ष्यअनुसार राजस्व उठाए पनि खर्च गर्न सकेको छैन। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चालु आवको बजेटमा विनियोजित पुँजीगत (विकास) रकमतर्फ बिहीबारसम्म जम्मा ४.८४ प्रतिशतमात्र खर्च भएको छ। राजस्वबाट उठेको रकमसमेत राज्यको ढुकुटीमै थन्किएका कारण बजारमा रकम अभाव देखिएको प्रवक्ता ढकाल बताउँछन्।
अर्कोतर्फ रेमिट्यान्स घटेका कारण पनि तरलतामा समस्या देखिएको हो। राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको प्रथम तीन महिनामा नेपाल भित्रिने रेमिट्यान्स ७.६ प्रतिशतले घटेको छ। तीन महिना (साउन, भदौ र असोज)को अवधिमा कूल दुई खर्ब ३९ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत वर्षको सोही अवधिमा रेमिट्यान्स १२.७ प्रतिशतले बढेको थियो। चालु आर्थिक वर्ष सुरु भएसँगै रेमिट्यान्स घटेका कारण तरलतामा दबाब पर्न गएको राष्ट्र बैंकका प्रवक्ता ढकालको बुझाइ छ।
यता बैंकहरुले आफूसँग स्रोत र साधन अपुग हुँदाहुँदै पनि आक्रामक रूपमा कर्जा विस्तार गरेका थिए। त्यसले पनि तरलतामा असर परेको ढकाल बताउँछन्। ‘बैंकहरुको तरलताको मुख्य स्रोत निक्षेप संकलन हो, चालु आर्थिक वर्ष सुरु भएदेखि नै बैंकहरुमा निक्षेप कम आएको छ। तर, निक्षेप कम हुँदाहुँदै पनि बैंकहरु कर्जा लगानीमा आक्रामक भएका छन्। यस कारण तरलतामा चाप पर्न गएको हो,’ उनले भने।
तर, नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवाली भने राष्ट्र बैंकले बैंकहरूमाथि अनावश्यक हस्तक्षेप गरेका कारण निक्षेप संकलन घटेको बताउँछन्। उनी भन्छन्, ‘अहिले राष्ट्र बैंकले बैंकको आफ्नो स्वतन्त्र काममा हस्तक्षेप गरिहेको छ। जस्तैः ब्याजदर तोक्ने कुरामा राष्ट्र बैंकले हस्तक्षेप गरेको छ। यस्ता कुराले बैंकहरूमा हुने निक्षेप संकलन अझ घट्नसक्छ।’
नेपाल बैंकर्स संघका अनुसार असोज ३१ देखि कात्तिक ३० गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप संकलन ३५ अर्ब ३१ करोड रुपैयाँले घटेको छ। कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरुले ४२ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। यसअघि असोज मसान्तसम्म बैंकहरुले संकलन गरेको निक्षेप ४२ खर्ब ६९ अर्ब रुपैयाँ थियो।
यता, असोज ३१ देखि कात्तिक ३० गतेको अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी ३६ अर्ब १२ रुपैयाँले बढेको तथ्यांक छ। संघका अनुसार कात्तिक मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुले ४० खर्ब ३४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। असोज ३१ गतेसम्म कर्जा लगानी ३९ खर्ब ९८ अर्ब रुपैयाँ थियो।
के गर्दै छ राष्ट्र बैंक?
बैंकहरुमा तरलताको चाप परेपछि राष्ट्र बैंकले बेलाबेलामा रिभर्स रिपो जारी गरिरहेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा तरलता अभाव हुन नदिन कात्तिक महिनामा मात्र दुई पटक गरी २१ अर्ब २० करोड रूपैयाँको रिपो जारी गरेको थियो। यस्तै, कात्तिक महिनामा नै राष्ट्र बैंकले विभिन्न कोषमा रहेको ५२ करोड ५९ लाख रूपैयाँ पैसा बजारमा पठाएको छ। अद्यपि, बजारमा तरलताको समस्या यथावत् रहेको बैंकरहरू बताउँछन्।
तरलताको समस्याले पार्ने प्रभाव
तरलता अभावले बैंकिङ क्षेत्रमा मात्र नभइ समग्र अर्थतन्त्रलाई नै प्रभावित पार्ने जानकारहरू बताउँछन्। नबिल बैंकका डेपुटी सीईओ ज्ञवालीले १० लाख ऋण माग्न आउने ऋणीलाई समेत ऋण दिन नसक्ने अवस्थामा बैंकहरू पुगेको बताए। कोरोना महामारीको चपेटाबाट बाहिर आएर केही गर्न चाहनेले कर्जा लिन नपाउने अवस्था हुँदा यसले अर्थतन्त्रमा झन् ठुलो असर पुर्याउनसक्नेतर्फ सरकारको ध्यान केन्द्रित हुन आवश्यक रहेको उनी बताउँछन्।
राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री तरलता अभावका कार पर्ने प्रभाव वित्तीय संस्थाहरूमा मात्रै सीमित नरहने बताउँछन्। बैंकिङ प्रणालीसँग कुनै प्रत्यक्ष सरोकार नभएका मानिसहरूलाई पनि तरलताको सङ्कटले प्रभाव पार्ने उनको भनाइ छ।
‘बैंकले चाहेको बेलामा आफ्ना ऋणीलाई भनेजति कर्जा दिन सक्दैन। यसले आउँदा दिनमा व्यवसायमा असर पर्ने देखिन्छ। कर्जाको ब्याजदर बढ्नुको प्रभाव उद्योग व्यवसायको लागतमा पर्छ र त्यसले बजार महँगी बढाउँछ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।