कैलाली– धनगढी उपमहानगरपालिका वडा नम्बर ४, बोराडाँडीमा बन्न लागेको अस्थायी बसपार्क निर्माणमा अवरोध सिर्जना भएको छ। नेपाली सेनाले अस्थायी बसपार्क निर्माण हुने जग्गा खाली गर्न नमानेपछि निर्माण कार्य सुरु हुन सकेको छैन।
पुरानो बसपार्कको स्तरोन्नती कार्य हुने भएपछि धनगढी उपमहानगरपालिकाले बोराडाँडीमा अस्थायी बसपार्क निर्माण गर्ने निर्णय गरेको थियो। अस्थायी बसपार्क बन्ने जग्गामा माओवादी सशस्त्र युद्धका बेला नेपाली सेनाले सुरक्षा प्रयोजनका लागि तारबार गरेको थियो। अहिले सेनाले सो जग्गा आफ्नो स्वामित्वमा रहेको भन्दै खाली गर्न नमानेको हो।
अस्थायी बसपार्क निर्माणमा अवरोध सिर्जना भएपछि विवाद समाधानका लागि मंगलबार जिल्ला प्रशासन कार्यालयमा सरोकारवाला निकायहरूबीच बैठक बसेको थियो।
प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको पहलमा भएको बैठकमा नेपाली सेनासँग छलफल गरी समस्या समाधान गर्ने निर्णय भएको जनाइएको छ।
धनगढी महानगरपालिका प्रमुख नृपबहादुर वडले पनि बोराडाँडीमा अस्थायी बसपार्क निर्माणका लागि सेनासँग थप छलफल गरिने बताए। नगर प्रमुख वडले सो क्षेत्र सरकारी वनमा रहे पनि नेपाली सेनाले संरक्षण गरेको हुँदा थप छलफल गरेर निस्कर्षमा पुगिने बताए। उनले यसबारे केन्द्रीय निकायमासँग पनि छलफल गरिने बताए।

उपमहानगपालिकाले असोज महिनाभित्रै सो स्थानमा अस्थायी बसपार्क निर्माण र सञ्चालन गरिसक्ने गरी तयारी गरिरहेको जनाइएको छ।
धनगढी उपमहानगरपालिकाको कार्यालयले ४ बिघा क्षेत्रफल ओगटेको सो स्थानमा लामो समयदेखि बसपार्क निर्माणका लागि पहल गरिरहेको छ।
धनगढी उपमहानगरपालिकाको पुरानो बसपार्कको आगामी कार्तिक महिनादेखि स्तरोन्नति कार्य सुरु हुने भएको छ।
अस्थायी बसपार्क निर्माण हुने जग्गामा ६ बिघा १० कठ्ठा क्षेत्रफल छ। सो मध्ये साढे ३ बिघा जमिन खाली चौर छ भने अरु जमिनमा रुखविरुवा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।