तस्बिर : निमेषजंग राई/नेपाल लाइभ।
काठमाडौं- एमालेको दशौं राष्ट्रिय महाधिवशेनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका उपाध्यक्ष भीम रावलले आफ्नो उम्मेदवारीलाई सहज रुपमा लिँदै आफूप्रति सद्भाव राख्न अध्यक्ष केपी शर्मा ओलीप्रति आग्रह गरेका छन्।
आइतबार अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै रावलले भने- 'मेरो अध्यक्ष पदको उम्मेदवारीलाई सहजरुपमा लिई पार्टीलाई नयाँ गतिका साथ अघि बढाउन मप्रति सद्भाव प्रदर्शन गर्नहुन कमरेड केपी शर्मा ओली एवम् सबै नेतृत्व तहमा रहनुहुने कमरेडहरु समक्ष हार्दिक आह्वान गर्दछु।'
रावलले आफूले अध्यक्ष पदको जिम्मेवारी पाएको अवस्थामा ओलीको महत्त्वपूर्ण अनुभव, ज्ञान र दक्षतालाई जहिले पनि पार्टीको विकास, विस्तार र सफलताका लागि सदुपयोग गरिरहन आफू सदा तत्पर रहेको बताए। 'पार्टीमा फुट भएको बेला अरुबाट परिस्थितिको सामना गर्न केही कठिनाई हुन्छ कि भन्ने लागेको भए त्यसबारे ममाथि भरोसा गरी ढुक्क हुन उहाँलाई हार्दिक आग्रह गर्दछु', उनले भने।
'पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले ७० बर्षको उमेरसम्म आइपुग्दा पार्टीको अध्यक्ष र देशको प्रधानमन्त्री समेत भई महत्त्वपूर्ण जिम्मेवारी वहन गरिसक्नु भएको छ। यस क्रममा उहाँले देश र जनताको लागि गर्नसक्ने काम आफ्नो सम्पूर्ण क्षमता, योग्यता, सक्रियता र लगनका साथ गर्दै देश र जनता सबैले देखिसकेका छन्। उहाँ स्वयंले केही समय पहिले पार्टीको नेतृत्व हस्तान्तरण गर्ने र पुनः अध्यक्ष पदमा प्रतिस्पर्धा नगर्ने घोषणा पनि गर्नुभएको हो', रावलको भनाइ छ, 'उहाँको यस्तो कार्य र घोषणाको सम्मानको लागि पनि उमेर र अनुभव लगायत सबै दृष्टिबाट परिपक्व भइसकेकोले मैले केन्द्रीय कमिटीको अध्यक्ष पदका लागि अग्रसर हुनु उचित सम्झेको छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।