काठमाडौं– काठमाडौंका १० वटा प्रतिनिधि सभा क्षेत्रीय सभापतिका लागि कांग्रेसका उम्मेद्वार चयन करिब टुंगिएको बताइएको छ।
नेताहरु प्रकाशमान सिंह, गगन थापा र राजन केसीको क्षेत्रमा सर्वसहमतिमा उम्मेद्वार बनाउने गरी छलफल भइरहेको बताइएको छ। काठमाडौं १० मा पुकार महर्जनलाई सर्वसहमतिको सभापति बनाउने गरी प्रयास भएको छ। उनी नेता सिंहनिकट हुन्।
संस्थापन पक्ष कमजोर रहेको काठमाडौंमा इतर पक्षका आकांक्षी धेरै रहेकाले उनीहरु बीचमा नै उम्मेद्वार मिलाउने प्रयत्न भइरहेको छ।
काठमाडौं क्षेत्र नम्बर २ मा कविर शर्मा सभापति शेरबहादुर देउवा पक्षबाट उठ्ने भएका छन्। संस्थापनइतरबाट अर्जुन पराजुली प्रतिस्पर्धामा उत्रने भएका छन्।
काठमाडौं ३ मा सन्तोष चालिसे र दीपेन्द्र लामा सभापतिका लागि भिड्ने चर्चा छ। लामा काठमाडौं ६ का वडाअध्यक्ष पनि हुन्। लामाको प्रतिस्पर्धीको चर्चामा रहेका चालिसे गोर्कणेश्वर नगरपालिकाका मेयर हुन्।
काठमाडौं ५ को सभापति उठाउन नेता सिंहले आफ्नै समूहका आकांक्षीलाई मिलाउनुपर्ने भएको छ। श्याम खड्का र रमेश खड्का दुवैले उम्मेद्वारी दिने बताइएको छ। दुवै जना नेता प्रकाशमाननिकट हुन्।
काठमाडौं ६ मा कृष्णमान श्रेष्ठ बलियो दाबेदारका रुपमा अघि सरेका छन्। सोही क्षेत्रबाट विजयी भीमसेनदास प्रधानले उनीसँग भिडाउन श्यामकृष्ण खड्गीलाई उठाउने भएका छन्।
काठमाडौं ७ मा संस्थापनइतरका मुकुन्द रिजाल बलियो उम्मेद्वार हुन्। उनको प्रतिस्पर्धीमा अन्य नाम बाहिर आउन सकेको छैन। रिजाल काठमाडौं १६ का वडा अध्यक्ष पनि हुन्।
काठमाडौं ८ मा राजेश श्रेष्ठ उम्मेद्वार बन्ने भएका छन्। श्रेष्ठको प्रतिस्पर्धीमा अन्य उम्मेद्वारको नाम बाहिर आइसकेको छैन। श्रेष्ठ काठमाडौंको मेयरमा पराजित राजुराज जोशीनिकट हुन्।
काठमाडौं ९ मा जयकृष्ण महर्जन र श्यामकृष्ण खड्काले प्रतिस्पर्धा गर्ने चर्चा छ। दुवै प्रतिस्पर्धी नेता सिंह पक्षधर हुन्। सभापतिको प्रतिस्पर्धामा देखिएका दुई जनामध्येमा खड्का तुलनात्मक रुपमा बलियो रहेको बताइएको छ।
कांग्रेसले प्रतिनिधि सभा क्षेत्रको अधिवेशन मंसिर ६ (भोलि) मा गर्ने भएको छ। भोलि नै एक मात्रै प्रतिनिधि सभा रहेको जिल्लाको जिल्ला अधिवेशन पनि हुने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।