काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आउँदो महाधिवेशनका लागि उम्मेद्वारी घोषणा गर्ने भएका छन्। उनले आइतबार दिउँसो ३ बजे पत्रकार सम्मेलनमार्फत् औपचारिक रुपमा उम्मेद्वारी घोषणा गर्न लागेको उनका सञ्चार सहयोगी एकिन्द्र कुँवरले बताए।
एमालेको १०औं राष्ट्रिय महाधिवेशन यही मंसिर १०-१२ गतेसम्म चितवनमा हुँदैछ। एमालेले यसअघि नै विधान महाधिवेशन गरिसकेकाले चितवनको महाधिवेशनलाई नेतृत्व चयनको महाधिवेशनका रुपमा लिइएको छ।
रावलले यसअघि गृहजिल्ला अछाम पुगेर अध्यक्षमा उम्मेद्वारी दिने घोषणा कार्यकर्तामाझ गरेका थिए। तर, आज उनले कुन पदमा उम्मेद्वारी घोषणा गर्ने भन्ने खुलाइएको छैन। अहिलेसम्म एमालेका कुनै पनि नेताहरूले औपचारिक रुपमा उम्मेद्वारी घोषणा गरेका छैनन्।
रावलले गत कात्तिक २३ गते अछामको साँफेबगर नगर कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै कार्यकर्ताको भावना अनुसार आफू पार्टी अध्यक्षमा लड्ने तयारीमा जुटेको बताएका थिए।
अध्यक्षमा केपी शर्मा ओली नै निर्विरोध दोहोरिने भन्दै पार्टीका नेताहरुहरुले भन्दै आएका थिए। तर, रावलको तयारीले ओलीको निर्विरोध अध्यक्ष बन्ने प्रयासमा धक्का लाग्ने भएको छ।
रावल आठौं महाधिवेशनमा उपाध्यक्षको उम्मेदवार भई पराजित भएका थिए। नवौं महाधिवेशनमा भने उनी उपाध्यक्षमै विजयी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।