काठमाडौं– मोरङका १२ प्रदेश सभा क्षेत्रका कांग्रेस सभापतिमा नेता डा शेखर कोइराला निकटका बढी निर्वाचित भएका छन्।शनिबार भएको प्रदेश सभा क्षेत्रमा ७ जना सभापति शेखर निकटका विजयी भएका छन्। १ (क) मा नर बहादुर मोक्तान १३० मत सहित विजयी भएका छन्। उनले अर्जुन तुम्रोकलाई पराजित गरे। तुम्रोकले ९६ मत ल्याएका थिए। १ को ख मा मा राजकुमार लामा सर्वसम्मत चयन भए। वर्तमान जिल्ला सभापति डिगबहादुर लिम्बुको चुनावी क्षेत्रमा दुबै सभापति शेखर निकटका विजयी भए।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र न २ को (क) मा कन्हैयालाल राजवंशी सर्वसम्मत चयन भएका छन्। उनी नेता शेखर पक्षधर हुन्।ख मा निर्वाचित देबेन्द्र बस्नेत पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन्। मोरङ २ नेता मिनेन्द्र रिजाल निर्वाचित क्षेत्र तथा पुरानो क्षेत्र न १ हो। पूर्व सभापति गिरीजाप्रसाद कोइराला निर्वाचित हुने क्षेत्र पनि यही हो।
क्षेत्र न ३ को क र ख दुवैमा नेता शेखर निकटका सभापति चयन भएका छन्। क मा गंगा याखाले लोककिरण न्यौपानेलाई पराजित गरे। ख मा जगतलाल चौधरीले केदार अधिकारीलाई पराजित गरेका थिए। मोरङ ३ डा सुनिल शर्मा कांग्रेसबाट निर्वाचन लडेकोे क्षेत्र हो।
मोरङ ४ को क मा एकाराम माझी प्राप्त मत १७७ सहित विजयी भएका छन्। विजयी हुने माझी केन्द्रीय सदस्य गुरुराज घिमिरे निकट हुन्। नेता महेश आचार्य चुनाव लडने यस क्षेत्रमा उनी निकट विजयी कुमार माझी १६७ मत सहित पराजित भएका छन्। मोरङ ४ घिमिरेको गृह क्षेत्र हो।
मोरङ ४ को ख मा सुवोध निरौला १६३ मत प्राप्त गरी विजयी भएका छन्। उनी नेता महेश आचार्य नजिकका हुन्। निरौलासँग पराजित विनायक पन्तले १२५ मत ल्याएका थिए।
क्षेत्र न ५ को दुबै प्रदेशमा सर्वसहमतिले नेतृत्व चयन गरिएको छ। क मा अचानु खा गनगाई ख मा जितेन्द्र साह चयन भएका छन्। देउवा निकट केन्द्रीय सदस्य अमृत अर्यालको निर्वाचन क्षेत्र रहेको मोरङ ५ मा संस्थापन पक्षकै प्रदेश सभा क्षेत्रको सभापति चयन भएका छन्।
क्षेत्र न ६ को क मा दिपक भगत विजयी भएका छन्। भगत पनि नेता शेखर पक्षधर हुन्। ख विजयी हुने र पराजित हुने दुबै शेखर नजिकका छन्। ख मा मधुबाबु तिवारी निर्वाचित भएका छन्। उनले विकास पराजुलीलाई हराए। प्रदेश १ का आर्थिक मामिला मन्त्री केदार कार्की नजिक रहेका तिवारी विजयी भएका हुन्। प्रदेश मन्त्री कार्की नै शेखर निकट मानिन्छन्।
प्रदेश प्रतिनिधिहरुमा पनि नेता शेखर हावी भएका छन्। मोरङका तीन नेता शेखर,आचार्य र रिजाल मोरङको अधिवेशनमा मिलेर जानका लागि गत साता काठमाडौंमा बैठक बसेको बताइएको छ। केन्द्रीय प्रतिनिधि धेरै छनोट हुने मध्येको जिल्लामा पनि रहेकाले शेखरले आफ्नो गृह जिल्लालाई विशेष महत्व दिएका छन्।
अधिवेशन आफ्नो पक्षमा पार्नकै लागि उनी विराटनगरमा छन्। संस्थापइतरका अर्का नेता आचार्य आज साँझ मोरङ जाने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।