काठमाडौं- नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनमा सो पार्टीसँग भाइचारा र मैत्रीपूर्ण सम्बन्ध रहेका अन्तर्राष्ट्रियस्तरका करिब ६० पार्टीलाई निमन्त्रणा गरिएको छ। एमालेको महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ।
कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय यात्रा गर्ने कुरा त्यति सहज नभएको अवस्थामा महाधिवेशनमा उपस्थित हुने अन्तर्राष्ट्रिय पाहुनाको सङ्ख्या तुलनात्मकरूपमा कम हुने आकलन पनि गरिएको छ। सो पार्टीको महाधिवेशनका लागि गठित अतिथि सत्कार कमिटीका संयोजक डा राजन भट्टराईले उपस्थित नहुने पाहुनाले सफलताको शुभकामना सन्देश पठाएको जानकारी दिए।
अहिलेसम्म भारतबाट तीनवटा पार्टी भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादी, भारतीय कम्युनिष्ट पार्टी र भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादी लेनिनवादी लिवरेशन पार्टीले आउने निश्चित गरेका छन्। फरर्वाड ब्लकले पनि महाधिवेशनमा आउने निश्चित गरेको जनाइएको छ। त्यसैगरी बङ्गलादेशको कम्युनिष्ट पार्टी अफ बङ्गलादेशका तर्फबाट आउने निश्चित भएको छ भने रिभोलेसनरी वर्कर पार्टी र श्रीलङ्काबाट जेभिपी पार्टीका प्रतिनिधि आउने बताइएको छ। एमालेका विदेशका प्रमुख भट्टराईले कम्बोडियाको सत्तासिन पार्टी कम्बोडियन पिपुल्स पार्टीका प्रतिनिधिले आउने निश्चित गरेको र फ्रेञ्च कम्युनिष्ट पार्टीले पनि प्रतिनिधि पठाउने भनेको छ। टर्कीको वामपन्थी पार्टीले आउने निश्चित गरेको छ।
युरोपमा पनि पछिल्लो समय कोरोना सङ्क्रमण बढेका कारण युरोपियन पार्टीहरुले आउने चासो राख्दा–राख्दै पनि आउन नसक्ने स्थिति भएकाले सन्देश पठाउने भएका छन्। दक्षिण एसियाका अरु रुलिङ पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीले आउन नसक्ने भन्दै शुभकामना सन्देश पठाउने भएका छन्।
नर्थकोरिया पार्टी, भियतनाम र लावसले प्रतिनिधि नै पठाउन सक्ने या शुभकामना सन्देश पठाउने भन्ने विषयमा टुङ्गो गर्ने भएका छन्। भट्टराईका अनुसार अहिलेसम्म बेल्जियमबाट शुभकामना सन्देश प्राप्त भएको छ। आयरल्याण्डबाट शुभकामना सन्देश प्राप्त भएको छ। जर्मनी र रसियाका तीनवटा पार्टीले शुभकामना सन्देश पठाउने भएका छन्।
अन्तर्राष्ट्रिय पाहुनालाई ढिलोमा मङ्सिर ९ गतेसम्म काठमाडौं आइपुग्न भनिएको र उनीहरुलाई १० गते बिहान काठमाडौंबाट चितवन लगिने भट्टराईले जानकारी दिए। चितवनमा उद्घाटनसत्रमा सहभागी गराएपछि उनीहरूलाई सौराहाको होटलमा बस्ने व्यवस्था गरिएको छ। पाहुनाको सम्मानमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले रात्रिभोजको आयोजना गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।