काठमाडौं- नेपाली कांग्रेसका नेताद्वय प्रकाशमान सिंह र शशांक कोइरालाले सभापतिको अडान छाडेर आफूहरुलाई सघाउन अर्का नेता रामचन्द्र पौडेलसँग आग्रह गरेका छन्। शनिबार तीन नेताबीच भएको बैठकमा उक्त आग्रह गरिएको नेता सिंहले बताए।
'हामी दुईजना मिलेर अघि बढ्छौं। तपाईं अभिभावक भएर बसिदिनुपर्यो। मिलाउने काम गर्नुपर्यो भन्यौं,' उनले नेपाल लाइभसँग भने, 'तर, रामचन्द्रजीको जहिले पनि त्यही अडान त हो नि!'
नेता सिंहले पौडेललाई अघिल्लो महाधिवेशनमा सहयोग गरेको तर आफैंले मिलाउन नसकेको कुरा राखेको बताए। 'गत महाधिवेशनमा हामीले सहयोग गरेकै हो। तपाईंले अवसर पाएर पनि मिलाउन सक्नुभएन, अहिले झन् कसरी सक्नुहुन्छ र?,' पौडेललाई भनेको कुरा उल्लेख गर्दै नेता सिंहले भने, ' १३औं महाधिवेशनपछि शेरबहादुरजीले पनि पार्टी चलाउन सक्नुभएन। रामचन्द्रजीबाट पनि पार्टी चल्दैन भनेर सबैले भनिरेहेकै छ नि।'
समयको माग नेतृत्व परिवर्तनको भएकोले आफूहरुलाई सहयोग गर्न आग्रह गरिएको नेता सिंहले जानकारी दिए।
जवाफमा पौडेलले पुरानै अडान दोहोर्याएको पनि उनले बताए। 'तपाईंहरु दुईजना मिलेर मात्रै हुँदैन, अर्को पनि त मिल्नुपर्यो भन्नुभयो। उहाँको अडान पहिलेदेखिकै उस्तै हो,' नेता सिंहले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।