काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमालेको चितवनमा हुन गइरहेको महाधिवेशनलाई खलनायकहरुको महाधिवेशन भनेका छन्।
शनिबार रौतहटको कटरियामा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले त्यस महाधिवेशनलाई आफू र माओवादीप्रतिको 'माया' भन्ने गरेको बताए।
'तपाईंहरुले थाहा पाउनुभयो, चितवनमा अस्ति सानो पार्टीको महाधिवेशन भयो,' आफ्नो सम्बोधनमा उनले भने, 'अर्को अहंकारले चरमचुलीमा पुगेका खलनायकहरुले महाधिवेशन गर्दै छन् चितवनमा। मैले भनेको छु, धन्यवाद चितवनलाई खुब माया गरेका छौं तिमीहरुले। प्रचण्डलाई माया गरेका छन्। त्यसकारण चितवन आउँदै छौ भन्ने गरेको छु।'
उनले एमालेले चितवनमा महाधिवेशन आयोजना गरेर प्रचण्ड र माओवादीलाई माया गर्न नगएको बरु सिध्याउन गएको प्रस्ट पारे। 'तर, जनताको अगाडि दुनियाँको कुनै पनि तागतको केही पनि लाग्ने छैन,' उनले भने, 'हामी जित्नेछौं। आउने निर्वाचनमा माओवादी पार्टी २०६४ सालको जस्तै एक नम्बर पार्टी बन्ने पूरै सम्भावना छ।'
उनले मधेसी जनताको विरोधी र मित्र को रहेछन् भन्ने छर्लङ्ग भएकाले अब भ्रममा पर्नुपर्ने आवश्यकता नरहेको बताए। 'म आज बडो गर्वका साथ तपाईंहरुलाई भन्दै छु, प्रदेश २ मा अब एकचोटि फेरि माओवादीमय हुँदै छ,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।