काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत रुपन्देहीका १० वटा प्रदेश क्षेत्रमा गृहमन्त्री बालकृष्ण खाण निकटका तीन जना मात्रै प्रदेश क्षेत्र सभापतिमा विजयी भएका छन्।
संस्थापनपक्षमै रहे पनि खाण र सांसद भरत शाहले आफूनिकटलाई भिडाएका थिए।
खाणका स्वकीय सचिव विजेश न्यौपानेसमेत प्रदेश प्रतिनिधिमा पराजित भएका छन्। लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनोडियाका स्वकीय सचिव सञ्जीव बस्याल पनि प्रदेश प्रतिनिधिमा पराजित भएका छन्।
रुपन्देही १ का दुवै प्रदेश सभापतिमा खाणनिकट उम्मेदवार विजयी भएका छन्। 'क'मा नवीनराज जोशी र 'ख'मा मदनराज पोखरेल प्रदेश सभा क्षेत्रको सभापति चुनिएका हुन्। खाणनिकट घनश्याम चालिसे ३ को 'ख' मा विजयी भएका छन्।
२ 'क' र 'ख' मा पौडेलपक्षीय उम्मेदवार विजयी भएका छन्। यी दुई प्रदेश सभा क्षेत्रबाट खाण निकट एक जना मात्रै प्रदेश प्रतिनिधि छानिएका छन्। २ को 'क' मा खड्कबहादुर महत र 'ख' मा परशुराम ढकाल विजयी भएका छन्। उनीहरु दुवै पौडेलनिकट हुन्।
३ को 'क' मा पौडेलपक्षले जित निकाल्न लागेपछि खाणनिकट आक्रमणमा उत्रिएको बताइएको छ। पुरण श्रेष्ठ प्रदेश सभा क्षेत्रको सभापतिमा जितनजिक पुगेका बेला खाण पक्षका कार्यकर्ता आक्रमणमा उत्रिएको बताइएको छ। उक्त क्षेत्रको मत गणना रोकिएको छ।
४ को 'क' मा शिवकुमार यादव र 'ख'मा श्रीराम यादव विजयी भएका छन्। विजयी दुवैजना संस्थापनइतरबाट उम्मेदवार थिए।
प्रतिनिधि सभाका सांसद तथा लेखा समितिका सभापतिले रुपन्देहीमा आफ्नै समूह खडा गरेका छन्। यद्यपि, उनी देउवा समूहकै हुन्। उनीनिकट दुई जनाले प्रदेश सभा क्षेत्रीय सभापति बनेका छन्। ५ को 'क' मा विजयी रामबहादुर थापा र 'ख'मा विजयी विन्दाराम यादव शाहनिकट हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।