झापा– नेपाली कांग्रेसको प्रदेश सभा क्षेत्रीय अधिवेशनअन्तर्गत झापामा २ ठाउँका सभापति निर्विरोध चयन भएका छन्। बाँकी ८ ठाउँमा भने निर्वाचनमार्फत सभापति निर्वाचित भएका छन्।
झापामा प्रतिनिधिसभाको पाँच वटा र प्रदेश सभाको १० वटा निर्वाचन क्षेत्र छन्। जसमध्ये सबै प्रदेश क्षेत्रको निर्वाचन परिणाम शुक्रबार राति आइसकेको छ ।
झापा क्षेत्र नम्बर १ को प्रदेश ‘क’को सभापति पदमा हरि बुढाथोकी र ‘ख’को सभापति पदमा सन्तोष न्यौपाने निर्वाचित भएका छन्।
नेपाली कांग्रेस झापाको प्रचार विभागका प्रमुख कृष्ण हुमागाईका अनुसार क्षेत्र नम्बर २ को प्रदेश ‘क’को सभापतिमा लक्ष्मी आचार्य र ‘ख’को सभापतिमा किरण श्रेष्ठ निर्वाचित भएका छन्।
क्षेत्र नम्बर ३ को प्रदेश ‘क’ र ‘ख’को सभापतिमा क्रमशः चिन्तामणि खरेल र तुलसीप्रसाद ओली निर्वाचित भएका छन्।
क्षेत्र नम्बर ४ को प्रदेश ‘क’ र ‘ख’को चुनावी नतिजाअनुसार सभापतिमा पदमा क्रमशः विनोद ढकाल र ख्याम सिटौला निर्वाचित भएका छन्।
त्यसैगरी, क्षेत्र नम्बर ५ को प्रदेश ‘क’ को सभापतिमा जीवनकुमार राई र प्रदेश ‘ख’को सभापतिमा रवि न्यौपाने विजयी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।