काठमाडौं– नेकपा (एमाले)ले चितवनमा हुने १०औं महाधिवेशनको उद्घाटन सत्रमा आतिथ्यताका लागि विभिन्न दलहरूलाई निम्तो दिएको छ।
नेकपा (एमाले)ले शुक्रबार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नेपाल मजदुर किसान पार्टीलाई महाधिवेशनमा आतिथ्यताका लागि निम्तो पत्र दिएको हो।
नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङ र १० औं महाधिवेशन अतिथि सत्कार समितिका संयोजक राजन भट्टराईले प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार पुगी प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निम्तो-पत्र हस्तान्तरण गरे।
अतिथि सत्कार समितिका संयोजक भट्टराईले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरलाई पनि शुक्रबारै निम्तो पत्र हस्तान्तरण गरेका थिए।
यस्तै, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलाई अतिथि सत्कार समितिका संयोजक डा.भट्टराई, पार्टी केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ र भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले भक्तपुर पुगेर निम्तो-पत्र प्रदान गरे।
जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चालाई पनि छिट्टै निम्तोपत्र हस्तान्तरण गर्ने एमालेले जानकारी दिएको छ।
एमालेले महाधिवेशन उद्घाटन सत्रमा स्वदेश तथा विभिन्न देशका प्रमुख राजनीतिक दल र नेताहरूलाई आमन्त्रण गरेको छ।
एमालेबाटै विभाजित भएर गठन भएको एकीकृत समाजवादीलाई भने निमन्त्रणा नगरिने एमालेले यसअघि नै घोषणा गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।