काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्रदेशसभा क्षेत्रीय अधिवेशनको मतगणनाका क्रममा रुपन्देहीको भैरहवामा दुई पक्षबीच झडप भएको छ। झडमा कम्तीमा ५ जना घाइते भएका जनाइएको छ।
रुपन्देहीको प्रदेश सभा निर्वाचन क्षेत्र ३ (क) अधिवेशनको मतगणनास्थल सिद्धार्थनगर नगरपालिका भैरहवामा शुक्रबार राति दुई समूहबीच झडप भएको हो।
कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका कार्यकर्ताबीच झडप भएको बताइएको छ।
दुवै पक्ष प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए। मतगणनाका क्रममा पौडेल पक्षका उम्मेदवार पुरण श्रेष्ठले अग्रता लिएपछि झडप भएको बताइएको छ।
झडपमा पौडेल पक्षबाट प्रदेश सभा क्षेत्रीय समितिका सचिवका उम्मेदवार शैलेश पन्तसहित ५ जना घाइते भएका जनाइएको छ। पन्तको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको पौडेल पक्षका कार्यकर्ताले जानकारी दिएका छन्।
अरु घाइतेहरूको भने भीम अस्पताल भैरहवामा उपचार भइरहेको जनाइएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोज केहीले मतगणनास्थल बाहिर केही व्यक्तिबीच झगडा भएको बताए।
'मत गणना भइरहेको ठाउँमा हैन। बाहिर झगडा भएको हो,' एसपी केसीले नेपाल लाइभसँग भने, 'यसलाई झडप भन्नु भन्दापनि झगडा भन्नु नै उपयुक्त होला।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।