काठमाडौं– नायिका रिस्ता बस्नेतको मुख्य भूमिका रहेको फिल्म ‘पासो’को फस्ट लूक सार्वजनिक भएको छ। लामो समयसम्म चलचित्र क्षेत्रबाट टाढा रहेकी अभिनेत्री बस्नेत धेरैपछि पासोमार्फत् फेरि ठूलो पर्दामा फर्किन लागेकी हुन्। पासोको फस्ट लूकसँगै घोषणा भएको प्रदर्शन मितिकाअनुसार फिल्म चैत १८ गते सिनेमा हलमा लाग्नेछ।
पासोको फस्ट लूकमा रिस्ता रगताम्य अवतारमा डरलाग्दो रुपमा देखिएकी छिन्। फिल्मको निर्माण पक्षका अनुसार फिल्ममा एक अपराधिक गिरोहको कुनै उच्च पदस्थ व्यक्तिको शारीरिक भोक मेटाउन अपहरणमा परेका युवतीहरुको कथालाई फिल्ममा देखाइएको छ। उनीहरु त्यो परिस्थितिबाट कसरी बाहिर निस्किन्छन् र सुरक्षित हुन्छन् भन्ने कथा पर्दामा देख्न सकिनेछ।
यसअघि ‘लूकामारी’ र ‘होस्टल’मा देखिएकी रिस्ताको त्यति धेरै चर्चा भएको थिएन्। होस्टल फिल्म व्यवसायिक रुपमा केही सफल भए पनि रिस्ताले भने अपेक्षित चर्चा पाउन सकेकी थिइनन्। लूकामारी भने 'फ्लप' नै भएको थियो।
पछिल्ला फिल्मभन्दा फरक भूमिकामा ‘पासो’मा देखिएकी रिस्ताका यो फिल्ममा संघर्षरत युवतीको भूमिका निभाएकी छिन्। फिल्ममा अहसज परिस्थितिबाट सुरक्षित हुनका लागि गरिएको संघर्षलाई देखाइएको छ।
आरबी पुनले निर्देशन गरेको फिल्ममा कथा, पटकथा र संवाद पनि उनकै छ। फिल्मको निर्माण भने भगवान भुजेलले गरेका हुन्। फिल्ममा रिस्तासँगै सुनिसा बजगाईं, राजकुमार बस्ताकोटी, प्रतीक दुलाल, प्रणव आकाश लगायतको अभिनय रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।