काठमाडौं– आफ्नो पछिल्लो फिल्म ‘अनुराग’ नराम्रोसँग 'फ्लप' भएपछि नायिका तथा मोडल एलिजा गौतमको फुर्सद बढेको थियो। केही म्यूजिक भिडियोमा बाहेक उनी पर्दामा त्यत्ति धेरै देखिइनन्। ‘घिन्ताङ’ नामक फिल्ममा काम गर्ने निधो गरेकी एलिजाले पछि भने त्यो फिल्मलाई पनि छाडेकी थिइन्।
केही समयसम्म ठूलो पर्दा बाहिर रहेकी एलिजा फेरि यतैतिर फर्कन लागेकी छिन्। उनी रामजी दैलेखीको लगानीमा बन्न लागेको फिल्म ‘घुँइचो’मा काम गर्न लागेकी हुन्। एलिजा र चलचित्र निर्माण टोलीबीच फिल्मका लागि सम्झौता समेत भएको छ।
‘आरके म्यूजिक एण्ड मिडिया’को ब्यानरमा बन्न लागेको फिल्ममा नेपालबाट अमेरिकासम्म गएको मानिसको कथा समेटिने निर्माण पक्षले बताएको छ।
एलिजाले भने चलचित्रमा काम गर्ने सम्झौदा गर्दै आफूले खोजेजस्तै कथा पाएकाले काम गर्न तयार भएको बताएकी छिन्। हाललाई फिल्मका लागि एलिजाको टुंगो लागे पनि अन्य कलाकारको भने टुंगो लागेको छैन।
अनुरागमा गरेको अभिनयले त्यक्ति चर्चा पनि नकमाएकी एलिजाले म्यूजिक भिडियोबाट थोरै भएपनि आफूलाई परिचित गर्दै थिइन्। अब ‘घुँइचो’मा उनको अभिनय यात्रा कस्तो हुन्छ? त्यो त हेर्नै बाँकी छ। आशा गरौं, अनुरागले जस्तो नभएर ‘घुँइचो’ले थोरै भएपनि एलिजालाई राहत दिन सफल बनोस!
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।