काठमाडौं– यसै वर्ष रिलिज भएको तामिल भाषाको फिल्म ‘जय भीम’ आईएमडीबीमा शीर्ष स्थानमा पुगेको छ। आईएमडीबीको उत्कृष्ट फिल्महरुको सूचीमा ९.६ रेटिङसहित फिल्म शीर्ष स्थानमा उक्लिएको हो।
यसअघि शीर्ष स्थानमा रहेको हलिउड फिल्म ‘द ससांक रिडेम्सन’लाई उछिन्दै जय भीम पहिलो स्थानमा पुगेको हो। द ससांक रिडेम्सनलाई आईएमडीबीमा ९.३ रेटिङ दिइएको छ। हालसम्म ७३ हजार भोटसहित जय भीम शीर्ष स्थानमा छ भने द ससांक रिडेम्सनले २५ लाख भोटसहित ९.३ रेटिङमा रहेको छ।
केही साताअघि मात्रै रिलिज भएको फिल्म ‘जय भीम’को कथावस्तु र त्यसको प्रस्तुतिका कारण चौतर्फी रुपमा चर्चित बनिरहेको छ। नोभेम्बर २ बाट ओटिटी प्लेटर्फम ‘अमेजोन प्राइम’मार्फत प्रदर्शनमा आएको फिल्ममा भारतको तामिलनाडुमा १९९३ मा भएको घटनालाई देखाइएको छ। फिल्ममा भारतको मद्रास उच्च अदालतका पूर्वन्यायधीश के चन्द्रुको जीवनको महत्त्वपूर्ण र उनलाई चिनाउनमा मद्दत पुर्याएको मुद्दामा आधारित कथावस्तुलाई प्रस्तुत गरिएको छ।
फिल्मलाई निर्देशक टिजे ग्नानाभेलले गरेका छन्। स्थानीय आदिवासीमाथि प्रहरीले झुटो मुद्दा लगाएर उनीहरुलाई दमन गरेको कथामा आधारित फिल्ममा समाजमा स्थापित रहेको जातीयता, प्रहरीको दमनजस्ता कुराहरुलाई प्रस्तुत गरिएको छ।
फिल्ममा चन्द्रुको भूमिकामा सूर्या देखिएका छन्। उनीसँगै प्रमुख भूमिकामा लिजोमोल जोस (सेन्गेई), के मनिकन्दन (राजाकन्नु), पेरुलश्वामी (प्रकाश राज), रजिशा भिजयन (माइथ्रा) लगायतको अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।