काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि इजरायलका राजदूत हनान गोदरले शिष्टाचार भेट गरेका छन्।
मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच नेपाल-इजरायलबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भएको जानकारी दिएको छ।
छलफलका क्रममा मन्त्री श्रेष्ठले सन् २०२० मा भएको श्रम सम्झौताअनुसार नेपाली नागरिकलाई इजरायलको दीर्घकालीन सेवा केन्द्रमा सहायक कामदारको रूपमा एक हजार १७५ जनालाई रोजगारी प्रदान भएकोमा नेपाल सरकारको तर्फबाट इजरायली सरकारप्रति आभार व्यक्त गरे। केयर गिभरमा इजरायल जानका लागि भाषा पास गरेकाहरू निकट भविष्यमै जान पाउने छन्। मन्त्री श्रेष्ठले योग्यता प्रणालीअनुरूप रोस्टरमा रहेका बाँकी ४२५ जनालाई समेत रोजगारीको पहल गर्न आग्रह गरे।


उनले आगामी दिनमा इजरायलका अन्य पेसागत क्षेत्रमासमेत नेपालीलाई रोजगारीको अवसरका लागि पहल गरिदिन आग्रह गरे। मन्त्री श्रेष्ठले पूर्वाधार विकाससँगै इजरायलले गरेको कृषि क्रान्ति अनुकरणीय रहेको बताए। पछिल्लो समय नेपालबाट इजरायलमा गइ काम गर्ने नेपाली कामदारको संख्या उल्लेखनीय रहेको चर्चा गर्दै मन्त्री श्रेष्ठले इजरायल गएर कृषि क्षेत्रमा काम गरेर फर्किएका नेपालीले नेपालको कृषि क्षेत्रमा लगानी गरी व्यावसायिक कृषि पेसा गर्दै आइरहेको बताए। उनले नेपाली नागरिकले इजरायलको कृषि क्षेत्रमा आर्जन गरेको प्रविधिगत ज्ञान, सीप र अनुभवले नेपालमा कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरणमा सहयोग पुर्याएको बताए।
राजदूत गोदरले भविष्यमा अन्य पेसागत क्षेत्रमासमेत नेपालीलाई रोजगारीको अवसर प्रदान गर्न इजरायल सकारात्मक रहेको बताएका थिए। इजरायल नेपाली कामदारहरुका लागि आकर्षक गन्तव्य मुलुकको रुपमा रहँदै आएको छ।
अहिले करिब १२ हजार नेपाली कामदार इजरायलमा कार्यरत छन्। नेपाल र इजरायलबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापित गर्ने नेपाल दक्षिण एसियाकै पहिलो देश हो। इजरायली नागरिकले नेपालको पर्यटन प्रवर्द्धनमा पनि योगदान पुर्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।