काठमाडौं- वरिष्ठ गायिका चन्द्रकला शाह राष्ट्रिय संगीत पुरस्कार-२०७८ बाट सम्मानित भएकी छन्।
काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा उनलाई सम्मान गरिएको हो। गीत-संगीतको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै ७२ वर्षीया गायिका शाहलाई सम्मान गरिएको हो।
टीका-गोपाल डिजिटल एम क्रियसनले गरेको सम्मान कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले शाहलाई नगद ५१ हजार रुपैयाँ र ताम्रपत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरे।
बास्कोटाले सरकारले गीत-संगीत तथा कलाकारिता क्षेत्रको सम्मान गर्न नसकेको गुनासो गरे। निजी क्षेत्रबाट स्थापना भएका संघ-संस्थाहरूले कलाकारको भावना बुझ्न सकेको भन्दै उनले प्रशंसासमेत गरे। रेडियो नेपालमा २९ वर्षसम्म काम गरेकी शाहलाई एक्कासी निकालेर सरकारले अपमान गरेको गुनासो पनि उनले गरेका थिए।
शाहले गीत-संगीत क्षेत्रमा गरेको कामको उच्च मूल्यांकन गर्दै आफूलाई सम्मान गरेकामा खुसी व्यक्त गरिन्। गायिका शाहले २०३२ सालमा रेडियो नेपालमा कार्यरत रहँदादेखि गीत-संगीतको क्षेत्रमा योगदान पुर्याउँदै आएकी छन् ।
गायक तथा संगीतकार कन्हैयासिंह परियारले आफ्ना मातापिता टीका-गोपालको सम्झनामा गायक-गायिकाको सम्मान गर्न भन्दै राष्ट्रिय संगीत पुरस्कारको स्थापना गरेका हुन्। उनले अग्रज कलाकारलाई प्रत्येक वर्ष सम्मान गरिने पनि कार्यक्रममा घोषणा गरेका छन्।
सम्मान कार्यक्रममा गायक तथा संगीतकार भीमार्जुन आचार्यले गीत-संगीत क्षेत्र उत्साहित हुनेगरी सरकारले विशेष नीति ल्याउनुपर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।