काठमाडौं प्रस्थान गर्नुअघि डडेलधुराका कांग्रेस नेता/कार्यकर्ता।
काठमाडौं- नेपाली कांग्रेस डडेलधुराका नेता कार्यकर्ता अनसन बस्नका लागि काठमाडौंका लागि हिँडेका छन्। एकतर्फी गरिएको अधिवेशन बदरको माग राख्दै उनीहरु गाडीमार्फत् काठमाडौं आउन लागेका हुन्।
६० जना भन्दा बढी नेता कार्यकर्ता अनसनका लागि हिँडेका छन्। काठमाडौंका लागि छुट्नुअघि महासमिति सदस्य हरि भट्टले भने, ‘शेरबहादुर देउवालाई शाही आयोगले थुन्दा उहाँको न्यायका लागि २०६१ सालमा यसैगरी काठमाडौं गएका थियौं, अहिले देउवाबाट नै हामीलाई न्याय माग्न काठमाडौं जाँदैछौं।’
क्रियाशील सदस्यताको विवाद अन्त्य नहुँदै डडेलधुरामा वडा र पालिका अधिवेशन गरिएको थियो। उक्त अधिवेशनलाई जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले बहिष्कार गरेको थियो। वडा र पालिका अधिवेशन बदर गरेर पुनः गर्न माग गरिएको छ।
निर्वाचन समितिले उक्त अधिवेशनलाई मान्यता दिएको छ। मल्ल पक्षधर जिल्ला पार्टी कार्यालयमा दश दिन रिले अनसन बसेका थिए। संस्थापनइतरका नेताहरु डडेलधुरा पुगेर अनसन रोक्न आग्रह गरेका थिए। माग सुनुवाइ नभएपछि केन्द्रीय कार्यालयमा नै रिले अनसन बस्ने गरी काठमाडौं प्रस्थान गरेको भट्टले बताए।
षडयन्त्र गरी अन्य संरचनाको अधिवेशन भए अमान्य हुने उनले बताए। डडेलधुराको सन्दर्भमा नयाँ अधिवेशन हुनुपर्ने असन्तुष्ट पक्षको माग छ।
‘वडा र पालिका अधिवेशन हुँदा माथिबाटै उम्मेदवार तयार भएर आए। सभापतिकै नेतृत्वमा सक्रिय सदस्यताको मतदातामा व्यापक धाँधली भएको छ। विधान मिचिएको महाधिवेशन हामीलाई मान्य छैन’, भट्टले भने, ‘यो कथित अधिवेशन हो। जिल्ला कार्यसमितिको सहभागिता नभएको अधिवेशन बदर हुनुपर्दछ।’
आन्दोलन गर्दागर्दै पनि पेलेरै अधिवेशन गरिए नयाँ कार्यसमितिलाई अस्वीकार गर्ने उनले चेतावनी दिए। मंसिर १ गतेदेखि केन्द्रीय कार्यालय सानेपामा अनसन सुरु गर्ने बताइएको छ। आन्दोलनको तयारीका लागि जिल्ला सभापति मल्ल केही दिन अघिदेखि काठमाडौंमा छन्। उनले संस्थापनइतरका नेताहरुलाई भेटेर थप पहलकदमीको आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।