काठमाडौं- भक्तपुरमा चाइनिज हाइब्रिड धान खेती लगाउने अधिकांश किसान मर्कामा परेका छन्। करिव १३ सय रोपनी जमीनमा रोपेको धानमा दाना नलागेपछि किसान मर्कामा परेका हुन्।
भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका किसान मर्कामा परेका भक्तपुरमा धानबाली र स्थानीय बीउबिजन संरक्षण तथा विषादी सम्बन्धी कृषक अन्तरक्रिया कार्यक्रममा जानकारी दिइएको थियो।
भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका अधिकांश किसानले चाइनिज डी वाई २८ जातको हाइब्रिड धान रोपेका थिए। सो जातको हाइब्रिड धानको बीउ रोपेको खेतमा एउटा पनि दाना नलागेपछि किसान समस्यामा परेका छन्।
भक्तपुरका किसानले विगत चार वर्षदेखि डी वाई २८ जातको धान रोपेर पर्याप्त धान उत्पादन गरिरहेका थिए। तर, यसपटक भने डी वाई २८ जातको धानमा एउटा पनि दाना नलागेपछि परिवार कसरी पाल्ने भन्ने चिन्तामा भक्तपुरका किसानहरु छन्।
भक्तपुरका किसानले सो जातको धान चार वर्षदेखि लगाउँदा कुनै समस्या नदेखिएको र स्थानीय लोकल जातको धान रोप्दा चार, पाँच मुरी धान उत्पादन हुने ठाउँमा डी वाई २८ जातको हाइब्रिड धान रोप्दा ८ देखि १० मुरी धान उत्पादन हुने गरेको थियो।
स्थानीय जातको बीउ बिजन लगाउन छोडेर किसान हाइब्रिड बीउमा आकर्षित हुँदा बेलाबेला कृषि उत्पादनमा समेत समस्या आउने गरेको छ। किसानलाई हाइब्रिड बीउबिजनतर्फ आकर्षित गर्नुभन्दा स्थानीय लोकल बीउ बिजनको संरक्षण गरी उत्पादन बढाउनतर्फ सरकारको ध्यान जानु अति आवश्यक रहेको नेपाल कृषक समूह महासंघका अध्यक्ष टेकबहादुर लाखाले बताए।
कृषकले पनि एकैपटक धेरै उत्पादन गर्ने लोभमा नफसेर विदेशी हाइब्रिड जातको बीउ बिजनको प्रयोग नगरी स्थानीय लोकल बीउको संरक्षण गर्नुपर्ने राष्ट्रिय कृषक समूह नेपाल महासंघ, वागमती प्रदेशका अध्यक्ष विजय तामाङले बताए।
भक्तपुरमा यसपटक डी वाई २८ जातको हाइब्रिड जातको धानमा दाना नलागेजस्तै २०७१ मा भक्तपुरमै डी वाई ६९ जातको धानमा दाना लागेको किसान कुलबहादुर न्हेमाफुकीले जानकारी दिए। उनका अनुसार उक्त समयमा १४ हजार भन्दा बढी किसानको खेत बाँझै भएको थियो। सोही समस्या फेरि भक्तपुरका किसानले अहिले भोग्नुपरेको छ।
स्थानीय जातको बीउको संरक्षण गर्ने दायित्व कृषकको पनि भएको चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले बताए। उनले खेतमा बाली लगाउँदा कुन बीउ प्रयोग गर्ने भन्ने कुरामा कृषकले सचेत हुन आवश्यक रहेको बताए।
चाँगुनारायण नगरपालिकामा धान खेतीमा भएको नोक्सानीका सवालमा भने नरपालिकाले पनि अध्ययन गरी रहेको उनले बताए। मिश्रले किसानहरुलाई कसरी र के राहत दिन सकिन्छ भन्ने विषयमा आफूहरु छलफलमा जुटेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।