काठमाडौं– इजरायल रोजगारीमा जानका लागि छनोट भएका श्रमिकलाई वैदेशिक रोजगार विभागले स्वास्थ्य परीक्षण तथा प्रहरी चारित्रिक प्रमाणपत्र पेस गर्न आग्रह गरेको छ।
इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिकका लागि परीक्षा दिएर गोलाप्रथाद्वारा अन्तिम छनोट भएका उम्मेदवारलाई प्रमाणपत्र पेस गर्न आग्रह गर्दै विभागले सूचना सार्वजानिक गरेको हो।
प्रहरी चारित्रिक प्रमाणपत्रका लागि विभागको इमेलमार्फत अनलाइन आवेदन गर्न आग्रह गरिएको छ। आवेदनपछि प्राप्त प्रमाण विभागको इमेलमा मङ्सिर ५ गतेभित्र पठाइसक्नुपर्ने सूचनामा उल्लेख छ।
स्वास्थ्य परीक्षण प्रमाणका लागि ललितपुरका स्टार, नेपाल मेडिसिटी हस्पिटल, काठमाडौंका ह्याम्स र मनमोहन मेडिकल कलेजमा सम्पर्क गर्न आग्रह गरिएको छ। विभागका अनुसार स्वास्थ्य परीक्षण कात्तिक २९ देखि मङ्सिर ५ गतेभित्र गरिसक्नु पर्ने सूचनामा उल्लेख छ। पहिलो चरणमा छनोट भएकामध्ये ५ सय जना युवा एक महिनाभित्र इजरायल पुुग्नेछन्।
विभागका निर्देशक एवं इजायल रोजगारी संयोजक डम्बर सुनुुवारले इजरायल जाने श्रमिकका लागि विभाग क्रमशः प्रहरी प्रतिवेदन, पीसीआरसहितको स्वास्थ्य परीक्षण, अभिमुखीकरण, श्रम स्वीकृति र उडान तालिका तयार गर्ने जानकारी दिए।
इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाइने सहायक श्रमिकको अन्तिम छनोटका लागि नेपालले इजरालयको दूतावासलाई उपलब्ध गराएको योग्यताक्रम सूचीका एक हजार ६ सय जना उम्मेदवारमध्येबाट एक हजार १७५ रोजगारीका लागि योग्य भएका थिए। मेडिकललगायतका अन्य प्रक्रियामा समस्या आउने अनुमानसहित निर्धारण गरिएकोभन्दा थप १७५ को नाम अन्तिम चरणमा राखिएको छ। यसमा महिलाको ८२१ र पुरुष ३५४ रहेका छन्।
इजरायलबाट छनोट भएर आएका सबैलाई भिसा प्रक्रियाका लागि इजरायली दूतावास पठाउने गरी काम भइरहेको विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।