काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)का नेपाल निर्देशक रिचार्ड होवार्डले शिष्टाचार भेट गरेका छन्। श्रम मन्त्रालयमा आज भएको भेटमा आईएलओसँग नेपालको साझेदारी र सहकार्यका विषयमा छलफल भएको जानकारी दिएको छ।
छलफलका क्रममा मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय श्रम संगठनले नेपालको श्रम प्रशासनलाई व्यवस्थित गराउन तथा दिगो विकास लक्ष्य (एसडीजी) कार्यान्वयन तथा राष्ट्रिय प्रतिवेदन तयारीमा गरेको सहयोगको प्रशंसा गरे। मन्त्री श्रेष्ठले सबै स्थानीय तहलाई बालश्रममुक्त स्थानीय तह घोषणा गर्ने नेपाल सरकारको लक्ष्यमा आईएलओबाट समेत सहयोगको अपेक्षा गरिएको बताए।
नेपालको संविधानले रोजगारीको हकलाई मौलिक हकको रुपमा राखेको र सबै श्रमिकलाई उचित श्रम अभ्यास गर्न पाउनेगरी श्रमको हकको प्रत्याभूति गरेको स्मरण गराउँदै मन्त्री श्रेष्ठले नेपाल सरकार मर्यादित श्रमको अवधारणा अनुरुप सबै श्रमिकको आधारभूत अधिकार सुनिश्चितता गर्न प्रतिबद्ध रहेको बताए। श्रम शक्तिलाई दक्ष र व्यावसायिक बनाइ स्वदेशमा नै रोजगारी अभिवृद्धि गर्ने नीति सरकारले लिएको उनले बताए। मन्त्री श्रेष्ठले श्रमलाई सीप, सीपलाई रोजगारी, रोजगारीलाई उत्पादन र उत्पादनलाई बजारसँग आबद्ध गर्ने रणनीति सरकारले लिएको बताए।
आईएलओद्धारा विश्वव्यापी रुपमा स्थापित मापदण्डअनुरुप श्रम प्रशासन सञ्चालन गर्न नेपाल प्रतिबद्ध रहेको पनि मन्त्री श्रेष्ठले बताए। श्रम प्रशासनलाई व्यवस्थित गर्न आगामी दिनमा आईएलओसँग साझेदारी र सहकार्य गरिने श्रेष्ठले बताए।
आईएलओका नेपाल निर्देशक होवार्डले मन्त्रालयसँग थप साझेदारी र सहकार्य गरिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।