काठमाडौं- तिहारपछि लगातार ओरालो लागिरहेको सेयरबजारमा आज सुधार आएको छ। साताको दोस्रो दिन सोमबार पुँजीबजार मापक परिसूचक (नेप्से) २६.४४ अंकले बढेर २७१५.३५ विन्दुमा उक्लिएको छ।
कारोबार भने आज पनि बढ्न सकेन। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज कूल चार अर्ब ७३ करोड ४६ लाख ५१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कूल २२८ वटा कम्पनीका ८६ लाख ३६ हजार ६३६ कित्ता सेयर ५९ हजार ३१६ पटक किनबेच भएका थिए।
आज कारोबार भएकामध्ये १६२ वटा कम्पनीको सेयर मूल्य बढेको नेप्सेले जनाएको छ।
ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि आज ४.१० अंकले बढेर ५०६.५४ विन्दुमा उक्लिएको नेप्सेले जनाएको छ। आज सबै उपसमूहको परिसूचक हरियाली बनेको छ।
आज बोटलर्स नेपाल तराई लिमिटेड र मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेपछि सकारात्मक सर्किट लागेको थियो। महालक्ष्मी विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ४.४६ प्रतिशतका दरले गुमाएका छन्।
आज महालक्ष्मी विकास बैंककै सेयर सबैभन्दा धेरै ३५ करोड ४६ लाख ४० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीको सेयर सबैभन्दा धेरै आठ लाख ९८ हजार ६७१ कित्ता तथा साहस ऊर्जाको सबैभन्दा धेरै छ हजार १४४ पटक किनबेच भएको नेप्सेले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।