काठमाडौं- एनएमबि बैंकले भिडियोमा आधारित केवाईसी सेवाको योजना ल्याएको छ। बैंकले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यो सेवा सञ्चालनमा ल्याएको घोषणा गरेको हो।
भिडियो कलमा आधारित यो योजनामार्फत् पाँच मिनेटमै खाता खोलेर कारोबार गर्न सकिने बैंकले जनाएको छ। यो सेवामार्फत् अब ग्राहकहरुले एनएमबिमा भिडियो कलमार्फत् अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरु पूरा अपडेट गर्नसक्ने जानकारी दिएको छ।
‘एनएमबिले ग्राहकहरुका लागि नेपालमा डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको सुरुआत गर्दै छ। ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको परिधिभन्दा माथि उठेर बैंकसम्म नधाइकनै मुख्य बैंकिङ गतिविधिहरु सञ्चालन गर्न सक्दछन्। हालको परिवेशमा पनि यस प्रकारको सेवाले हाम्रा ग्राहकहरुका लागि घरमै बसी बैंकिङ कारोबार सहज बनाउनुका साथै सबै प्रकारको म्यानुअल कामलाई निर्मुल पार्दै पारदर्शीता, त्रुटिरहित र कागजविहीन बैंकिङ सेवा प्रदान गर्दछ जुन बैंकको ग्लोबल एलाइन्स फर भ्यालु बेस्ड बैंकिङ सदस्यका नाताले वातावरणमैत्री बैंकिङप्रति प्रतिबद्धता परिपूर्ति गर्नु रहेको छ,’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यसैबीच बैंकले लोकप्रिय अभिनेता पल शाहलाई बैंकको ब्राण्ड एम्बेसेडर नियुक्त गरेको छ। बैंकले पत्रकार सम्मेलनमार्फत् उक्त जानकारी दिएको हो।
बैंकले हाल देशभर १८१ वटा शाखाहरुका साथै १३७ एटीएम र ९ एक्स्टेन्सन काउण्टरमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।