काठमाडौं- कांग्रेस महाधिवेशनको विषयलाई लिएर पटक-पटक कटाक्ष गरेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जवाफ फर्काएका छन्।
आइतबार जारी कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका बीच पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले नयाँ संविधान जारी भएपछि कांग्रेसले दुई पटक महाधिवेशन गरिसकेको बताए।
'एमाले अध्यक्षले संविधानले तोकेको समयभित्र महाधिवेशन गर्न नसकेको भनेर नेपाली कांग्रेसको बारेमा आलोचना गर्नुभएको छ,' उनले भने, 'नयाँ संविधान निर्माण भएपछि नेपाली कांग्रेस दोस्रोचोटि महाधिवेशन गर्दै छ। नेपाली कांग्रेसबाहेक अन्य कुनै दल छैनन् जसले संविधान बनेपछि दोस्रोपटक अधिवेशन गर्दै गरेको। संविधान बनिसकेपछि पहिलोपटक महाधिवेशन गर्दै गर्नुभएका कमरेडहरुलाई पनि हाम्रो शुभकामना छ।'
उनले केही ढिला भएको भए पनि साढे पाँच वर्षको अवधिभित्र टेकेर आफ्नो अधिवेशनलाई प्रारम्भ गरेको बताए।
गत कात्तिक १३ गते सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै ओलीले कांग्रेसले महाधिवेशन गर्नसक्ने क्षमता नै गुमाइसकेको बताएका थिए। 'अहिले ९, १०, ११ कहिले गर्ने भनेको, त्यो पनि नसक्ने भनिसके। यो कुनै हिसाबले कांग्रेसले रिति पुर्याउने कुरा हो। महाधिवेशन गर्न सक्ने क्षमता नै कांग्रेससँग समाप्त भइसक्यो। महाधिवेशन नै आयोजना गर्न नसक्ने अशक्त हालतमा कांग्रेस बुढो भयो,' उनले भनेका थिए, 'कांग्रेस बुढो भयो। विचार बुढो भयो। केही पनि छैन। महाधिवेशन पनि गर्न नसक्ने हालतमा कांग्रेस पुग्यो।'
त्यसअघि कात्तिक ६ गते एमालेको केन्द्रीय कार्यालय थापाथलीबाट देशभरका वडा अधिवेशनको उद्घाटन गर्दै उनले कांग्रेसप्रति कटाक्ष गर्दै लोकतान्त्रिक पार्टी भन्नेहरू नै महाधिवेशन गर्न नसकेर वर्षौंदेखि अल्झिरहेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।