काठमाडौं- आफ्नो पार्टीको ६ हजारभन्दा बढी वडामा एकैसाथ हुन गइरहेको अधिवेशनको उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिपर्धी पार्टी नेपाली कांग्रेसप्रति कटाक्ष गरेका छन्।
शनिबार एमालेको केन्द्रीय कार्यालय थापाथलीबाट देशभरका वडा अधिवेशनको उद्घाटन गर्दै उनले आफूलाई महत्त्वपूर्ण र लोकतान्त्रिक पार्टी भन्नेहरू नै महाधिवेशन गर्न नसकेर वर्षौंदेखि अल्झिरहेको बताए।
'संविधान अनुसार गर्नुपर्ने महाधिवेशनको पाँच वर्षको अवधि पार गरेर, त्यस अवधिपछि फेरि थप ६ महिनाको अवधि पार गरेर, अर्को ६ महिनाको अवधिभित्र अहिले गुज्रिराखेको र त्यसमा पनि १३ वटा जिल्लामा बल्ल केही भयो होला', उनले भने, 'अहिले म त्यता जान चाहन्नँ। मैले तुलना गरिराख्नुपर्ने आवश्यकता पनि छैन।'
कांग्रेसप्रति कटाक्ष गरेका उनले आफ्नो पार्टीको एकता, व्यवस्थापकीय कुशलता, तमाम नेता तथा कार्यकर्ताहरुको कर्तव्यबोध र उन्नत स्तरको समझदारीको पक्षको भने चर्चा गरे।
नेपाली कांग्रेसले पार्टी विधान अनुसार गरिसक्नुपर्ने महाधिवेशनको समय गुजारेर संविधानले दिएको सुविधा समेत पार गरिसकेको छ। तर, आगामी मंसिर ९-१३ मा महाधिवेशन तर गरेको छ। यद्यपि, सो मितिमा पनि महाधिवेशन नहुने निश्चित जस्तै छ। तर, एमालेले भने महाधिवेशनको मिति नसर्ने र तोकिएकै मितिमा महाधिवेशन हुने स्पष्ट पारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।