काठमाडौं- बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपमा प्रदान गर्ने ब्याजदर अब १० प्रतिशतभन्दा धेरै बढाउन नपाउने भएको छ। नेपाल राष्ट्र बैंकले आइतबार 'बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशन-२०७७' परिमार्जन गर्दै उक्त व्यवस्था गरेको हो।
ब्याजदर बढाउन बैंकहरुबीच देखिएको अस्वस्थ प्रतिस्पर्धालाई रोक्न राष्ट्र बैंकले नयाँ निर्देशन जारी गरेको हो।
परिमार्जित व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा अघिल्लो महिना प्रकाशन गरेको अधिकतम ब्याजदरको औसतमा बढीमा १० प्रतिशतले मात्र परिवर्तन गरी ब्याजदर निर्धारण गर्न सक्ने छन्।
यसरी ब्याजदर निर्धारण गर्दा कायम हुने अधिकतम र न्यूनतम ब्याजदरबीचको अन्तर सीमाभन्दा बढी हुन गएमा अधिकतम वा न्यूनतममध्ये एक दर सोही कायम गरी अन्य दरहरु समायोजन गर्नुपर्ने परिमार्जित निर्देशनमा उल्लेख छ।
यसैगरी निक्षेपमा दिने ब्याजदर मासिक रुपमा मात्र परिवर्तन गर्न सकिने व्यवस्था गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।