काठमाडौं- बक्स अफिसमा भर्खरै सय करोड भारुभन्दा धेरैको व्यापार गरेको बलिउड फिल्म ‘सूयवंशी’ ओटिटी माध्यम ‘नेटफ्लिक्स’ले किनेको छ। नेटफ्लिक्सले सय करोड रुपैयाँ भारु तिरेर फिल्म प्रसारणका लागि खरिद गरेको हो।
गत साता प्रदर्शनमा आएको फिल्मले हालसम्म निकै सफल व्यापार गरिरहेको छ। भारतसँगै अन्य देशहरुमा पनि फिल्मको व्यापारसँगै दर्शकले कोरोना कालपछि फिल्म क्षेत्रप्रति देखाएको चासो पनि उल्लेख्य छ। सूर्यवंशी प्रदर्शनमा आएपछि भारतसँगै नेपालमा पनि फिल्म क्षेत्र चलायमान बन्न थालेको छ।
यसबीच नेटफ्लिक्समार्फत् ओटिटीमा प्रसारण गर्नका लागि फिल्मलाई सय करोड भारु तिरेर किनिएको छ। भारतीय सञ्चारमाध्यममा उल्लेख भएअनुसार फिल्म नेटफ्लिक्समा डिसेम्बर पहिलो सातादेखि प्रसारण हुनेछ।
बलिउड निर्देशक रोहित शेट्टीको निर्देशनमा बनेको फिल्म ‘सूर्यवंशी’ उनले निर्माण गरिरहेको ‘कप युनिभर्स’ अन्तर्गतको पछिल्लो फिल्म हो। फिल्ममा मुख्य भूमिकामा अक्षय कुमार र केट्रिना कैफले अभिनय गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।