फाइल तस्बिर
काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पत्रकारहरुलाई रक्सी नखान सुझाव दिएका छन्। शनिबार पार्टी निकट समाजवादी प्रेस संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले स्वास्थ्य राम्रो बनाउन जोड दिए।
'रक्सी खाँदै नखानुस्। मलाई भन्थे, तपाईं प्रधानमन्त्री, नखाएपछि तपाईंको व्यक्तित्व कसरी उठ्छ। खाएर व्यक्तित्व बढ्दैन', उनले भने, 'स्वास्थ्य राम्रो बनाउनु, स्वास्थ्य राम्रो भयो भने भइ गयो नि। स्वास्थ्य राम्रो बनाउन जाँड रक्सी खाइरहनु केही जरुरी छैन। त्यसको व्यवसाय चल्दैन कि चिन्ता नगर्नुस्। रक्सीको उद्योग बन्द हुन्छ कि चिन्ता नगर्नुस्। त्यो चिन्ता गर्ने काम हाम्रो होइन।'
अध्यक्ष नेपालले आफ्नो सर्लाही भ्रमणको बेलाको घटनाको चर्चा गरे। 'अस्ति म सर्लाही जिल्ला गएको थिएँ। र मैले पार्टीका नेतालाई भनेको थिएँ, मैले सूचना पाउने गरेको छु कि साँझ पर्न पाएको छैन। गर्मी महिनामा साढे ७ बजे, जाडो महिनामा साढे ५ बजे। अँध्यारो हुन पाएको छैन, होटलका कोठाहरु भरिभराउ हुनथाल्छन् रे। अनि त्यहाँको टेबलभरिमा बोतलैबोतल भेटिन्छन् रे। त्यसपछि त्यहाँ ग्लास ठोकाठोक भइरहेको हुन्छ रे। गर्मागर्मी चर्काचर्की हुन्छ रे। अनि घरमा गएर झगडा गर्छन् र समस्या खडा गरिदिन्छन्। यी पार्टीका नेता को होलान्, म फोटो खिच्न चाहन्छु, गोप्य रुपमा फोटो दिनु भनेको थिएँ, भागेछन्', उनले भने।
उनले पत्रकारहरुलाई साँझ पर्ने बित्तिकै होटल, त्यो पनि पाँच तारे होटल धाइधाइकन नखाइकन निद्रै नलाग्ने अवस्था पक्कै छैन होला भन्ने विश्वास व्यक्त गरे। 'त्यो कुरा गरेको थाहा पाएँ भने म राम्रो मान्दिनँ', उनले भने।
नेपालले रक्सीले मान्छेको स्वास्थ्य खराब गर्ने, आयु घटाउने, रोग निम्त्याउने, पैसाको दुरुपयोग हुने, घर कलह सुरु हुने, छोराछोरीमा नराम्रो बानीव्यहोरा जाने खतरा हुने, समाजमा विकृति बढ्ने, कलह पैदा हुने बताए। 'यसले व्यक्तिको प्रतिष्ठा र सम्मान बढ्दैन। जाँडरक्सी खायो भने प्रतिष्ठा बढ्छ भन्ने नठान्नुहोला', उनले भने।
गत असोज २२ गते नियुक्त भएका आफ्ना पार्टीका मन्त्रीहरुलाई २४ गते केन्द्रीय कार्यालयमा बोलाएर रक्सी खाने बानी त्याग्न निर्देशन दिएका थिए।
'बदनामी कमाउने र विवादमा पर्ने कुनै पनि काम तपाईंहरुबाट हुने छैनन् भन्ने कुराको हामीले आशा र अपेक्षा गरेका छौँ। स्वच्छ र सादा जीवन, असल आचरण र संस्कारको अवलम्बन गर्नुहुनेछ। फलानो मन्त्री रक्सी खाएर माते, बेलुका बेलुका फाइभस्टार होटलमा गएर रक्सी खाइरहेका छन् र आफ्नो क्लाइन्टहरुसँग बसेर यिनै कुरा गरिरहेका छन् भन्ने कुरा सुन्नु नपरोस्,' उनको भनाइ थियो, 'सीधा कुरा- रक्सी खाने बानी छ भने पनि बानी त्याग्नुस्। अरु आचरण, महिलासँग जोडिएका त्यस्ता कुनै कुराहरु सुन्नु नपरोस्। त्यस्ता व्यवहारहरु तपाईंहरुबाट नहोस्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।