काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट नवनियुक्त मन्त्रीहरुलाई इमान्दार र कर्तव्य निष्ठा भएर देश र जनताको हितमा काम गर्न निर्देशन दिएका छन्।
पार्टीबाट नियुक्त मन्त्रीहरुलाई आइतबार पार्टी केन्द्रीय कार्यालमा बोलाएर नेता नेपालले इमान्दारिता र कर्तव्यनिष्ठ भएर काम हुने विश्वास लिएको बताए। उनले राष्ट्र र जनताको हितलाई केन्द्रविन्दुमा राखेर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिए । निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारजन्य प्रवृत्तिहरुबाट मुक्त हुन पनि उनले सचेत गराए। कुनै पनि संस्थामा व्यक्तिको छनोट गर्दा व्यक्तिको योग्यता, क्षमता र कार्यसम्पादनमा गरेको उत्कृष्टताको आधारमा गर्न अध्यक्ष नेपालले सुझाव दिए।
'बदनामी कमाउने र विवादमा पर्ने कुनै पनि काम तपाईंहरुबाट हुने छैनन् भन्ने कुराको हामीले आशा र अपेक्षा गरेका छौँ। स्वच्छ र सादा जीवन, असल आचरण र संस्कारको अवलम्बन गर्नुहुनेछ। फलानो मन्त्री रक्सी खाएर माते, बेलुका बेलुका फाइभस्टार होटलमा गएर रक्सी खाइरहेका छन् र आफ्नो क्लाइन्टहरुसँग बसेर यिनै कुरा गरिरहेका छन् भन्ने कुरा सुन्नु नपरोस्,' उनले भने , 'सीधा कुरा- रक्सी खाने बानी छ भने पनि बानी त्याग्नुस्। अरु आचरण, महिलासँग जोडिएका त्यस्ता कुनै कुराहरु सुन्नु नपरोस्। त्यस्ता व्यवहारहरु तपाईंहरुबाट नहोस्।
पार्टीको नेतृत्व र पार्टीले जिम्मेवारी दिएको विभागसँग काममा समन्वय गर्न, पार्टीको निर्देशन र सल्लाहलाई केन्द्रविन्दुमा राखेर काम गर्न उनले निर्देशन दिए। 'विज्ञ र अनुभवीहरुसँग नियमित रुपमा राय, परामर्श लिने चलन बसाल्नुपर्छ। तपाईंहरुले पाँच दलीय गठबन्धनको भावना अनुरुप अरु दलसितसमेत सहकार्य गर्नेगरी आफ्नो कार्यसम्पादन गर्नुपर्ने हुन्छ,' अध्यक्ष नेपालले भने, ' सांसदहरु र पार्टीका विभिन्न क्षेत्रका कार्यकर्ताहरुसँग जीवन्त सम्पर्क राख्नुपर्छ। पीएहरु नियुक्त गर्दा पार्टीले नै सबैको परामर्शको आधारमा, सल्लाहकारहरु नियुक्त गर्दाखेरी पार्टीका परामर्शका आधारमा, अन्य जोडिएका अनेक पक्षहरु हुन्छन् ती सबै आफूखुसी, आफ्नो ढंगले गर्ने होइन, त्यस सम्बन्धमा पार्टीको परामर्शको आधारमा चल्ने।’
अध्यक्ष नेपालले मन्त्रिपरिषद् बैठकमा आउने विभिन्न विषयवस्तुहरुमाथि अगाडि नै सामूहिक रुपमा बसेर, छलफल गरेर साझा राय बनाएर मात्रै प्रस्तुत हुनुपर्ने बताए। सिंगो मन्त्रिपरिषद्ले गर्ने निर्णयको जस अपजसको भागिदार सबै मन्त्री हुने उल्लेख गर्दै उनले मन्त्रिपरिषद्का विषयवस्तुहरु पार्टीलाई समेत जानकारी गराइ, पार्टीको मार्गदर्शन लिएर प्रस्तुत हुनुपर्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।