काठमाडौं– पछिल्लो समय विश्वभर कै मनोरञ्जनको दुनियाँमा ओटीटी (ओभर द टप) माध्यमको दबदबा बढेको छ। अनलाइनको माध्यमबाट सिनेमादेखि, वेबसिरिज, डकुमेन्ट्रीसँगै भिडियो माध्यमका विभिन्न सामग्री प्रसारण हुने थलो बनेका छन्-ओटीटी माध्यमहरु। ‘नेटफ्लिक्स’, ‘अमेजोन प्राइम’, ‘डिज्नी हटस्टार’लगायतका ओटीटी माध्यम विश्वव्यापाी बजारमा छाएका छन्।
भारतमा पनि ओटीटी माध्यमको छुट्टै दबदबा छ। नेटफ्लिक्सदेखि अमेजोन प्राइम सबैले आफ्नै लगानीमा हिन्दी वेबसिरिजदेखि सिनेमा निर्माण गरिरहेका छन्।
यसबीच भारतकै सबैभन्दा ठूलो प्रोडक्सन हाउस ‘यसराज फिल्म्स्’ पनि ओटीटी बजारमा छिर्ने भएको छ। भारतमा निरन्तर बढिरहेको ओटीटी मार्केटको भविष्यलाई मध्यनजर गर्दै यसराज फिल्म्स्ले पनि ओटीटीमा प्रवेश गर्न लागेको हो।
यसराज फिल्म्स्का प्रमुख आदित्य चोपडाले डिजिटल कन्टेन्टलाई नयाँ रुप दिने सोचसहित ओटीटी बजारमा प्रवेश गर्न लागेको बताइएको छ। उक्त माध्यमको निर्माण र व्यवस्थापनका लागि ५ सय करोड रुपैयाँ बजेट छुट्याइएको भारतीय सञ्चारमाध्यममा उल्लेख गरिएको छ।
यसराज फिल्म्स्ले आफ्नै ओटीटी माध्यम ल्याएर भारतीय कथाहरुलाई विश्व बजारमा पुर्याउने रणनिती बनाएको छ। कम्पनीले छिट्टै नै ओटीटी माध्यमको विषयलाई लिएर आफ्ना रणनीतिहरु सार्वजनिक गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।