काठमाडौं– अरुण काबेली पावरले हकप्रद निष्कासनका लागि प्रक्रिया अघि बढाएको छ। कम्पनीले शतप्रतिशत (१ः१)को दरमा हकप्रद निष्कासनको तयारी गरेको हो।
कम्पनीले हकप्रद निष्कासनसम्बनधी कार्यका लागि विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई चयन गरेको छ।
कम्पनीले भदौ २६ गते सम्पन्न ११ औं वार्षिक साधारण सभाले यस वर्षका लागि पारित गरेको १७ प्रतिशत बोनस सेयरपछि कायम चुक्तापूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गरेको थियो।
कम्पनीले रू. १ अर्ब ५८ करोड ५६ लाख ५० हजारको आधारमा १७ प्रतिशत बोनस सेयर वितरण गरेको हो। बोनस पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार रुपैयाँ पुग्नेछ। कम्पनीले सोही पूँजीको आधारमा शतप्रतिशत हकप्रद सेयर निष्कासनको तयारी गरेको हो।
कम्पनीले मेची पाँचथर र ताप्लेजुङ जिल्लाको सिमाना भएर बग्ने काबेली नदीको पानी उपयोग गरी २५ मेगावाट क्षमताको काबेली बि–१ जलविद्युत् आयोजनाको निर्माण कार्य पूरा गरी २०७६ साल कात्तिक २३ गतेदेखि व्यापारिक उत्पादन सुरु गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।