काठमाडौं- विश्व रेडियो इतिहासमा नेपालबाट नयाँ विश्व कीर्तिमान कायम गर्न दाबी पेस भएको छ।
‘पर्यटन प्रवर्धन र जलवायु परिवर्तनको असर’ विषयमा विगत डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल पत्रकार एवं हिमाल एफएम सोलुखुम्बुका प्रबन्ध निर्देशक भानुभक्त निरौलाले विश्वकै लामो रेडियो अन्तर्वार्ता लिएर ‘गिनिज बुक अफ रेकर्ड्स’का लागि दाबी पेस गरेका हुन्।
विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत महत्वपूर्ण पर्यटकीय सम्पदा रहेको नेपालमा पर्यटन क्षेत्रलाई चलायमान गराउँदै जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्वको ध्यान आकर्षित गर्ने उद्देश्यका साथ उक्त अन्तरवार्ता पर्यटनविद् आङफिन्जो शेर्पासँग गरिएको थियो ।
कार्यक्रम यही कात्तिक २२ गते सोमबार बिहान ७ः३५ बजे देखि कात्तिक २३ गते मंगलबार बिहान ९ः०२ बजेसम्म लगातार २५ घण्टा २७ मिनेट चलेको थियो।
यसअघि विश्वको लामो रेडियो अन्तर्वार्ता सन् २०११ मा अष्ट्रेलियाका पत्रकार रिचर्ड ग्लोभरले गरेका थिए। खेल विज्ञ पिटर फिट्ज्मिन्स्सँग रेडियो ७०२ एबिसी सिड्नीमा खेल क्षेत्रको विषयमा २४ घण्टा समयसम्म लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।