फाइल तस्बिर।
काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पाँच दलीय गठबन्धन समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले समन्वय समितिले सरकारको काममा कुनैपनि प्रकारको हस्तक्षेप नगर्ने बताएका छन्।
मंगलबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै पौडेलले सरकार जनता र संसद्प्रति उत्तरादायी निर्वाचित संस्था भएको उल्लेख गर्दै पाँच दलीय गठबन्धन समन्वय समितिले सरकारको कुनैपनि काममा हस्तक्षेप नगर्ने स्पष्ट पारे। वर्तमान राजनीतिक व्यवस्थालाई सुनिश्चित गर्न र लोकतन्त्रलाई सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले त्यसैको समन्वय गर्नका लागि समन्वय समिति बनाइएको बताए।
‘सरकार भनेको जनताप्रति उत्तरदायी निर्वाचित संस्था हो। त्यो सबै किसिमले जनताप्रति, संसद्प्रति उत्तरदायी बन्छ। त्यसकारण उसको काममा हामीले दख्खल दिने कुरो गर्नु हुन्न। लोकतन्त्रवादीको नाताले सरकारको क्रियाकलाप, गतिविधिमा हस्तक्षेप गर्ने अथवा त्यसलाई दख्खल दिने कुनैपनि कुरा गर्न उचित हुँदैन’, उनले भने।
वरिष्ठ नेता पौडेलले समन्वय समितिलाई कसैले राजनीतिक हतियारको रुपमा प्रयोग गर्न नहुने बताए। समन्वय समितिको काम व्यवस्थामाथि आइपर्ने समस्याहरूको बारेमा पाँच दलीय गठबन्धनलाई सजग राख्दै गठबन्धनलाई संगठित राख्नु र समझदारी कायम राख्नु रहेको उनले बताए।
‘कसैले उपयोग गर्ने अथवा सरकारको काममा दख्खल दिने रुपमा यसलाई हतियार बनाउने कुरा हामी मान्दैनौं। यसले सरकारको काममा हस्तक्षेप गर्ने, दख्खल गर्ने काम गर्नै हुन्न। यसलाई केवल व्यवस्थामाथि आइपर्ने समस्याहरू जे हुन्छन् त्यसमा मात्रै देशलाई सजग राख्ने हो’, उनले भने, ‘पाँच दललाई सजग राख्ने हो। पाँच दललाई संगठित राख्ने हो। पाँच दललाई व्यवस्थाको रक्षाको लागि, संविधानको रक्षाको लागि, राष्ट्रियताको रक्षाको लागि यो पाँच दललाई संगठित राख्ने र समझदारी र सहकार्ययुक्त बनाएर लैजाने हो।’
उनले पाँच दलीय गठबन्धन समन्वय समितिको संयोजकको रुपमा आफू रहेपनि नेपाली कांग्रेस भित्रको आन्तरिक राजनीतिमा सभापति शेरबहादुर देउवासँगको लडाइँ भने कायमै रहने बताए। समग्र व्यवस्थाको हित रक्षाको निम्ति एकै ठाउँ, एउटै सोचाइ र सहयोगात्मक सम्बन्ध भएपनि पार्टी भित्रको आन्तरिक लोकतान्त्रिक प्रतिस्पर्धा भने जहाँको त्यहीँ रहेको उनको भनाइ छ।
‘हिजो जुन हाम्रो आन्तरिक लोकतान्त्रिक लडाइँ, आन्तरिक लोकतान्त्रिक प्रतिस्पर्धा जहाँ थियो, जहाँ छ त्यो त्यहीँ रहन्छ र त्यही अगाडि बढ्छ। महाधिवेशनमा खुल्लम् खुल्ला लोकतान्त्रिक प्रतिस्पर्धा हुन्छ’, उनले भने, ‘लोकतान्त्रिक प्रतिस्पर्धा, लोकतान्त्रिक मर्यादाभित्र रहेर हुन्छ। के कमी कमजोरी हुन्, त्यसलाई हटाउने उद्देश्य राखेर खुल्लम् खुल्ला आम कार्यकर्तालाई अपिल गरेर उनको साथ लिएर पार्टीमा सुधार ल्याउने कुरा अगाडि नै बढ्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।