काठमाडौं- नेपालको सेयरबजारमा लगातार दोस्रो दिन उच्च अंकको गिरावट आएको छ। पुँजीबजार मापक परिसूचक (नेप्से) आज (मंगलबार) ७९.७९ अंकले घटेर २७४९.८६ विन्दुमा ओर्लिएको छ।
तिहार बिदापछि सेयरबजार खुल्दा पहिलो दिन सोमबार नेप्से १९.२० अंकले घटेको थियो। सोमबारको तुलनामा कारोबार भने बढेको छ।
नेप्सेमा आज छ अर्ब ५२ करोड ७७ लाख २९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जानकारी दिएको छ। कूल २२५ वटा कम्पनीका एक करोड १९ लाख १७ हजार ७७ कित्ता सेयर एक लाख ६६६ पटक किनबेच भएका थिए।
आज कारोबार भएकामध्ये सातवटा कम्पनीको मात्र सेयर मूल्य बढेको नेप्सेले जनाएको छ।
ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १६.०२ अंकले घटेर ५१२.८३ विन्दुमा ओर्लिएको छ।
आज मानुषी लघुवित्त वित्तीय संस्था, साहस ऊर्जा कम्पनी र तेह्रथुम पावर कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको थियो। आईसीएफसी फाइनान्स लिमिटेड र महालक्ष्मी विकास बैंक लिमिटेडको मूल्य १० प्रतिशतले घट्दा नकारात्मक सर्किट लागेको थियो।
आज नबिल बैंकको सेयर सबैभन्दा धेरै २९ करोड ८२ लाख ८१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। नेसनल हाइड्रोपावर कम्पनीको सेयर सबैभन्दा धेरै चार लाख ८० हजार ६१२ कित्ता तथा साहस ऊर्जाको सबैभन्दा धेरै २५ हजार ४६९ पटक किनबेच भएको नेप्सेले जनाएको छ।
आज सबै उपसमूहको परिसूचक नकारात्मक बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।