काठमाडौं– नबिल बैंकले ३८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैंकले गत आवको मुनाफाबाट प्रस्ताव गरेको लाभांश हालसम्म वाणिज्य बैंकहरुले प्रस्ताव गरेकोमा सर्वाधिक हो।
बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ३३ दशमलव ६ प्रतिशत बोनस सेयर र ४ दशमलव ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो।
बैंकको कात्तिक १६ गते सम्पन्न सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो।हाल बैंकको चुक्तापूँजी १३ अर्ब ८४ करोड ४४ लाख ५१ हजार रुपैयाँ रहेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ।
बैंकले गत वर्षपनि वाणिज्य बैंकहरुमध्ये सर्वाधिक ३५ दशमलव २६ प्रतिशत लाभांश वितरण गरेको थियो।
नेपालको सेयर बजारमा कुल बजार पूँजीकरणमा सर्वाधिक हिस्सा ओगटेको नबिल बैंकको प्रस्तावित लाभांश विगत चार आर्थिक वर्षपछिकै उच्च हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।